काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अस्पताल भर्ना गरिएको छ । माघी मनाउन रोल्पा पुगेका पुनको स्वास्थ्यमा एकाएक समस्या देखा परेपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो ।
पुनलाई ललितपुरको सुमेरु हस्पिटलमा भर्ना गरेर उपचार सुरु भएको बताइएको छ । जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए ।
पूर्ण रुपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ ।
यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए । गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।