
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ। नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवाद मिलाउन रकम मोलमोलाई गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको अभियोग पत्र अनुसार बिहीबार विशेष अदालतले दोषी ठहर गर्दै ३ वर्ष कैद सजायको फैसला गरेको हो।
कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने समेतलाई दोषी ठहर गर्दै उनलाई पनि उति नै सजाय र जनही ३९ लाख जरिवाना भराउने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपाने दोषी ठहर गर्दै दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो। उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाई दिने भनी ७८ लाख रुपैयाँ घुस लिएको अभियोग उनीमाथि थियो ।