
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूका बीचमा एकीकृत कारोबारको उद्घाटन गरेका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूसँगको मर्जर प्रक्रिया पूरा गरी आज आयोजना गरिएको एकीकृत कारोबारको सोमबार विशेष कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गरेका हुन् ।
आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रको संरचनामै सुधार गर्न आवश्यक देखिएको बताए । “अर्थतन्त्रमा सुधार गर्ने निर्णय त्यसको लागि काम सुरु गरिसकेका छौं” प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा सरकारले गृहकार्य गरिरहेको बताए ।
प्रधानमन्त्री कार्यालयले देशको बिग्रदो आर्थिक अवस्थाका बारेमा गम्भिर चासो राखेर काम गरिरहेको जनाउँदै अर्थमन्त्री लगायतका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए । अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको बताउँदै प्रचण्डले सबैको साथ लिएर चुनौती समाधान गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।