
काठमाडौं । आज नयाँ संसदको पहिलो अधिवेशन बस्दैछ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनापछि संसदको पहिलो अधिवेशन बस्न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी थिइन् ।
आज दिउँसो १ बजे वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सङ्घीय संसद्को पहिलो बैठक बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अधिवेशनको सबै तयारी पूरा भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शिर्ष तथा दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रिय सभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकले शिर्ष नेताहरुले सम्बोधन गर्ने निर्णय गरेको थियो ।
प्रवक्ता धमलाका अनुसार सत्तापक्ष र प्रतिपक्ष दलका सांसदलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको छ । तर ठाउँ अभावका कारण सबै दलका संसदीय दलका नेतालाई पहिलो लहरमा बस्ने भएका छन् ।
सङ्घीय संसदमा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।