
काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमलाई शिर्ष नेताहरुको बैठकले अन्तिम रुप दिने भएको छ । साझा कार्यक्रम ड्राफ्ट गर्न गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको प्रतिवेदन संयोजक केपी शर्मा ओलीलाई बुझाइएको थियो । पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदनमा थपघटसहित शिर्ष नेताहरुले छिट्टै अन्तिम रुप दिने प्रधानमन्त्री कार्यालयले जनाएको छ । शिर्ष नेताहरुले ड्राफ्टलाई अध्ययन सुरु समेत गरेको बताइएको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले सरकारका लक्ष्यहरू किटान गर्दै विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने कुरामा जोड दिएको छ । त्यस्तै संक्रमणकालिन न्यायलाई टुंगो लगाउने र नागरिकतालगायतका विषयमा ठोस कार्यक्रम बनाएर अगाडि बढ्ने विषय समेटेको छ ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका थिए ।