
काठमाडौं । बाक्लो हुस्सुले तराई तथा मधेसमा दिनदिनै चिसो बढिरहेको छ । दुई हप्तायता घाम लागेको छैन । हुस्सुसँगै बढेको चिसो र शीतलहरले मध्य तथा पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पुस १७ गतेदेखि सुरु भएको शीतलहर अझै केही दिन चल्नेछ । आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ । त्यस्तै पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।
यसैबीच गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चिसो, शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन तथा क्षति हुन नदिन सरकारका तर्फबाट आवश्यक पहल गर्नु भनेर जिल्ला प्रशासनलाई पत्राचार गरिएको छ ।
मधेस प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख रुपैयाँका दरले दिने निर्णय समेत गरेको छ ।
यता काठमाडौंको तापक्रम पनि घटिरहेको छ । आज काठमाण्डौमा बिहान न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।