
काठमाडौं । नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूटो हल्ला फैलाएको जनाएको छ ।
कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या सूचना फैलिएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।
क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन समेत आग्रह गरेको छ ।
नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।
नेपाली क्रिकेट र राष्ट्रको नाममा ठेस पुऱ्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न संघ प्रतिबद्धता रहेको जनाएको छ ।