
काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखक पार्टीबाट प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनित भएका छन् ।
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १३ को उपधारा (१) बमोजिम लेखकलाई प्रतिनिधि सभाको मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
त्यस्तै, प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। आले र राईले प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरासँग शपथ लिएका हुन् ।
गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् ।
पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।