
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुको साढे चार दशकपछिको सपना पूरा भएको छ ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीका अनुसार पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताए ।
विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उनको विश्वास छ । साथै गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखराबासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उनको बुझाइ छ ।
रेष्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले विमानस्थलको औपचारिक सञ्चालनले नयाँ वर्षको आगमनसँगै पोखरेलीमा थप खुसी सञ्चार गराएको बताए । उनले भने, ‘यो सानो प्रयास र सङ्घर्षले बनेको छैन, यहाँ दिनरात नभनी पोखरेलीको अनवरत रिले अनशन र विकासप्रतिको साझा सङ्कल्पले सफल भएको हो ।’
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले विमानस्थल सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भयो, हवाईमार्गले अब पोखरालाई विश्वसँग जोड्ने छ । दिगो पर्यटनका लागि योसँगै अझै थप पूर्वाधार जरुरी छ’, अधिकारीले भने ।