
पोखरा । बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुँदैछ । विमानस्थलको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड विहान पोखरा जाँदैछन् ।
नागरिक उड्डयन प्राधिकरणले उद्घाटनको सबै तयारी पूरा भएको जनाएको छ । तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने बताइएको छ । बुद्ध एअरले १ महिना अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागे पनि पाएको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पुर्याएर केही महिनाभित्र उडान हुनेछ ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।
विमानस्थलको उद्घाटनका अवसरमा आइतबार पोखरा महानगरपालिकामा सार्वजनिक बिदा दिएकाे छ । महानगरले एक सूचना जारी गरी महानगरपालिका कार्यालय महाशाखा, शाखा ३३ वटै वडा कार्यालय तथा मातहतका सबै विद्यालय तथा शैक्षिक सङ्घ संस्था बन्द हुने जनाएको छ ।
महानगरले निजी क्षेत्रलाई बिदा दिएर उत्सवमा सहभागी हुन आग्रह गर्दै साँझ घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा अनुरोध गरेको छ । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा पाेखरा महानगरले लिएको छ ।