काठमाडौं । पूर्वमुख्यमन्त्रीले सम्बोधन गर्ने एक कार्यक्रममा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । यो घटना भारतको आन्ध्र प्रदेको हो । त्यहाँको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुले सम्बोधन गर्न स्थलमा पुग्दा मानिसहरुको भिडबीचमा भागदौड मच्चिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।
नायडु हाल राज्य विधानसभामा विपक्षी नेता छन् । बुधबार साँझमा नायडुको गाडी उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।
स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो ।
नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।