Skip
आज :

आज माओ जयन्तीः प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने र किरण-धर्मेन्द्रको नाचघरमा विशेष कार्यक्रम

  • अनलाइन डबली

काठमाडौँ । आज चिनियाँ जनक्रान्तिका महान् नेता माओ त्सेतुङको १३०औं जन्मदिन । हरेक डिसेम्बर २६ जस्तै आज पनि संसारका माओवादीहरुले विशेष कार्यक्रम गरी माओ जयन्ती मनाइरहेका छन् ।

नेपालका माओवादीहरुले आज अलि फरक रुपमा माओ दिवस मनाउने लागिरहेका छन् । सरकारको मोर्चामा रहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको शपथ खान लागेको छ भने नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपालगायतले विविध कार्यक्रम गरी माओ दिवस मनाउन लागेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओ दिवसको अबसरमा प्रधानमन्त्रीको शपथ खान लागेका छन् भने क्रान्तिकारी माओवादी र नेकपा बहुमतले काठमाडौँको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
यसैबीच क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गरेर माओ चिनिया जनताका मुक्तिदाता तथा विश्वभरिका श्रमजीवी वर्ग एवम् आम उत्पीडित जनताको मुक्तिको मार्गदर्शक भएको बताएका छन् ।

यस्तो छ किरणको विज्ञप्तिः

आज नेपालमा र संसारभरि पनि सर्वहारा वर्ग तथा आम उत्पीडित जनताले भव्यताका साथ माओ दिवस मनाउन गइरहेका छन् । आजको यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी नेपाल लगायत संसारभरिका कम्युनिस्ट क्रान्तिकारीहरु, आम सर्र्वहारावर्ग, उत्पीडित जनसमुदाय एवम् समर्थक तथा शुभचिन्तकहरु प्रति लालसलाम अर्पण गर्दछ ।
सर्वहारा वर्गको मुक्तिको सिद्धान्त माक्र्सवादका तीनओटै सङ्घटक अङ्गहरु दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादको विकासमा कमरेड माओले महत्वपूर्ण योगदान दिनुु भएको छ । चीनको प्रतिक्रियावादी सत्ता तथा साम्राज्यवादका विरुद्धको भीषण सङ्घर्ष, नयाँ जनवादी क्रान्ति, देशी तथा विदेशी संशोधनवादीहरुका विरुद्धको निर्मम दुई–लाईन सङ्घर्ष, महान् बहस, महान् सर्वहारा सांस्कृतिक क्रान्ति र चीनमा समाजवाद निर्माणको प्रक्रियाका बीचबाट कमरेड माओले उक्त योगदान गर्नु भएको हो । यी योगदानहरु सार्वभौम महत्वका रहेका छन् र यो समग्र प्रक्रियामा माक्र्सवाद–लेनिनवाद माक्र्सवादको तेस्रो उच्च चरण माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास भएको छ । यसरी, साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओवाद क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्न गएको छ । आजको विश्वमा कुनै पनि कम्युनिस्ट पार्टी माओवादी नबनी सच्चा माक्र्सवादी–लेनिनवादी मात्र होइन सच्चा माक्र्सवादी पनि बन्न सक्दैन ।

यतिबेला नेपालमा साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप एकाएक बढेर गएको छ । त्यसलाई प्रतिक्रियावादमा पतन हुन पुगेका कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीहरुले साथ दिइरहेका छन् । अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अभिन्न अङ्ग रहेको एमसीसी कम्युनिस्ट नामधारी एमाले सरकारको बेला भित्रिएको छ र माओवादी केन्द्रको बलमा संसदबाट अनुमोदित भएको छ । लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रलाई भारतीय विस्तारवादले कब्जा गरेर नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामाथि सिधा हस्तक्षेप गर्दै आएको सन्दर्भमा नेपाली काङ्ग्रेस लगायत प्रतिक्रियावादमा पतन भएका कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीहरु कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र लिम्पियाधुरा तथा सुस्ता लगायतका अतिक्रमित भूभाग फिर्ता गराउन राजनीतिक पहल बढाउनुको साटो सत्तारोहणका लागि भारतीय विस्तारवादको चाकडी गर्न व्यस्त रहेका छन् । देशको राष्ट्रिय स्वाधीनता माथिको खतरा दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । जनताका जनतान्त्रिक अधिकारहरु खोसिंदै गएका छन् र जनजीविकाको समस्या झन–झन जटिल बनेको छ । यस प्रकारको गम्भीर स्थितिमा हाम्रो देशका संसदवादी राजनीतिक पार्टीहरु देश र जनतालाई अरु लुट्नका लागि नयाँ गठबन्धन तथा सत्ता समीकरण मिलाउने काममा व्यस्त छन् । उपरोक्त प्रकारको समस्याबाट देश र जनतालाई मुक्त गर्ने एकमात्र विधि सर्वहारा वर्गको नेतृत्व र आम उत्पीडित जनताको अधिनायकत्वमा अभिव्यक्त हुने नयाँ जनवादी क्रान्ति हो ।

आज विश्वभरि दक्षिणपन्थी संशोधनवादीहरु प्रतिक्रियावादमा पतन भएर नवउदारवादका पक्षपोषक बन्न गएका छन् । यो बेला सच्चा माक्र्सवादी–लेनिनवादी–माओवादीहरुले संशोधनवादलाई नाङ्गेझार नपारी र क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध नगरी कुनै पनि देशमा सर्वहारा क्रान्ति संभव छैन । यो नेपालका लागि पनि त्यत्तिकै सत्य हो । यस स्थितिमा वैज्ञानिक समाजवाद तथा साम्यवाद तर्फको यात्रा तय गर्नका लागि विभिन्न रुपका संशोधनवादी पार्टीहरुको निर्मम भण्डाफोर गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा विस्तावादका विरुद्ध नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु नै माओ दिवस मनाउनुको विशेष अर्थ र महत्व रहन्छ । अतः माओले देखाएको बाटोमा निरन्तर लागिरहन र विशेष उत्सवका रुपमा देशभरि माओदिवस मनाउन केन्द्रीय समितिको तर्फबाट म सबै पार्टी कमरेडहरुसित हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal