
काठमाडौँ । सर्वोच्च अदालको आदेशमा रिहा हुन लागेका फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई स्वदेश डिपोर्ट गरिँदैछ । नेपालमा १९ वर्षदेखि कारागारमा रहेका शोभराजलाई सर्वोच्चको आदेश अनुसार आज अध्यागमनमा बुझाउने केन्द्रीय कारागारले जनाएको छ ।
अन्तर्राष्ट्रिय अपराधिको रुपमा चिनिएका शोभराजलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा राखिएको थियो । उनले नेपालमा व्यक्ति हत्या गरेको पुष्टि भएपछि कारागारमा राखिएको थियो ।
सर्वोच्चका न्यायाधीशहरू सपना मल्ल प्रधान र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधवार नै रिहा गर्न आदेश दिएका थिए । शोभराजका नाममा अन्य अदालतबाट भएका आदेश अनुसार कैद भुक्तान गर्न बाँकी रहे वा नरहेको बुझ्न समय लागेको थियो ।
शोभराज माथि २०३२ सालमा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाण्डौको मनोहरामा र त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या गरेको आरोप थियो ।
हत्यापछि फरार शोभराज २०६१ सालमा पुनः काठमाण्डौ आएका बेला पक्राउ परेका थिए । काठमाण्डौ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरकरफरक समयमा जन्मकैदको फैसला भएको थियो । दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको समेत आरोप छ । पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।
अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पुर्याएर फिर्ता गर्ने तयारी छ ।
शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरानलगायतका देशमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ । तर नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको हो । ७८ वर्षीय शोभराजले नेपाल र भारतसहित ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा नै बिताएका छन् ।
कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि यो व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै उनले कैदमुक्तिको मागसहित पटकरपटक निवेदन दिएका थिए ।