
काठमाडौं । राजधानीसँग जोड्ने लाइफलाइनको रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड एक महिनासम्म दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन आजदेखि दैनिक चार घण्टा रोकिने छ ।
प्रमुख कार्कीले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कुनै पनि सवारी साधान आजवजावत गर्न पाउने छैनन् । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने भएकोले ढुंगा खस्ने भएका कारण सवारी आवागमन रोकिएको हो ।
उक्त सडक खण्डमा ९ वटा पुल तयार भइसकेका छन् भने चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्ने कार्य सुरु भएको छ ।
चारघण्टासम्म नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ ।
काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।
त्यसैगरी काठमाडौँतर्फबाट जाने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ ।
बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहगमा पुल निर्माण भइरहेको छ ।
वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।