आज :

कैलालीमा लघुवित्त संस्थाविरुद्ध ऋणीहरु आन्दोलित, कारण यस्तो..

  • पवित्रा दाहाल

काठमाडौं । कैलालीमा लघुवित्त वित्तीय संस्थाहरुविरुद्ध ऋणीहरु आन्दोलनमा उत्रिएका छन् । लघुवित्तले चर्को ब्याज असुलेर ऋणीहरुलाई दुःख दिएको उनीहरुको आरोप छ ।

गौरीगंगा नगरपालिका क्षेत्रमा सक्रिय भएका लघुवित्त वित्तीय संस्थाहरुले गैरकानुनी रुपमा १८ प्रतिशतसम्म ब्याज असुल्न थालेको ऋणीहरुको आरोप छ ।नगरपालिकाका सबै वडामा हस्ताक्षर संकलन गर्दै लघुवित्त संस्थाको खारेजीको माग पनि उनीहरुले गरेका छन् ।

त्यहाँको स्थानिय नरे सुनारका अनुसार आर्थिक समस्याका कारण लघुवित्तबाट ब्याजमा पैसा लिने गरेको तर लघुवित्तले ऋण लगानी गर्ने बेलाको भन्दा फरक व्यवहार देखाउँदै अनावश्यक दुःख दिने गरेका छन् ।

‘एक लाख रुपैयाँ ऋण काढेपछि ९० हजार रुपैयाँ मात्र पाइन्छ । बीमा र सेवा शुल्कको ब्याज पनि हामीले नै तिर्नुपर्छ । एउटा किस्ता पनि तिर्न नसके महिला समूहरुले घर घेराउ गर्ने, अनावश्यक टर्चर दिने गरिरहेका छन्,’ सुनारले भने, ‘ब्याज बढी भएकैले ऋण तिर्न नसक्दा मेरा छोराबुहारी नै बेपत्ता छन् । राज्यले यी लघुवित्तलाई नियमन गर्नुपर्दैन र ?’

स्थानीयकाअनुसार चौमाला क्षेत्रमा कार्यालय स्थापना गरेर बसेका फवार्ड माइक्रो फाइनान्स, किसान बहुउद्देश्यीय, युनिक नेपाल, छिमेकी लघुवित्त वित्तिय संस्थाहरुले गाउँ–गाउँमा पुगेर महिला समूहहरु गठन गर्ने गरेका छन् । सोही समूह मार्फत समुदायमा लगानी गर्दै आएका लघुवित्तहरुले बचत गर्दा ८ प्रतिशतसम्म ब्याज दिने गरेका छन् भने ऋण लिनेहरुबाट १८ प्रतिशतसम्म ब्याज लिंदै आएका छन् ।

वित्तीय संस्थाहरुले चर्को ब्याज असुल्न थालेपछि ऋणीहरु मर्कामा परेको र घरबास विहीन हुने अवस्थामा आएको भन्दै स्थानीय युवा सुवास कुँवरको नेतृत्वमा ऋणीहरु आन्दोलित भएका छन् । कुँवरले लघुवित्त संस्थाहरुले चर्को ब्याज लिएर स्थानीयलाई ऋणी बनाउने काम गरेको भन्दै त्यसविरुद्ध हस्ताक्षर संकलनदेखि अन्य दबाबमुलक कार्यक्रम गरिरहेको बताए ।

‘सरकारले लघुवित्त सहकारीहरुले मनलाग्दो रुपमा १८ देखि २० प्रतिशत ब्याज लिदा पनि अनुगमन र नियमन नगरिदिंदा गाउँका दिदी बहिनीहरुले ऋण तिर्न नसक्दा विभिन्न खालका समस्या भोग्नुपरेको छ,’ कुँवरले भने, ‘ऋण काढेकै कारण परिवारमा मनमुटाव भएर हत्या, आत्महत्या गर्नेसम्मको अवस्था सिर्जना भएपछि लघुवित्तहरु ज्यादतीविरुद्ध हामी सडकमा उत्रिएका हौं ।’

तर लघुवित्त वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्र रहेर समुदायमा लगानी गर्ने गरेको बताउदै जथाभावी रुपमा ब्याज नलिएको दाबी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal