
एजेन्सी । सोमबारको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
उनले धेरै क्षेत्रमा विद्युत प्रभावित भएको बताए । स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिए ।
सोमबार भएको हमलामा चार जनाको मृत्यु भएको थियो । रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् ।
मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।
अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ । यता चीनको राज्य परिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले १८ औँ बेइजिङ–टोक्यो फोरमको उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै एसियाको विकास र पुनरुत्थानका लागि दुवै देशले संयुक्तरुपमा मिलेर काम गर्नुपर्ने बुधबार बताए ।
यो वर्ष चीन–जापान कूटनीतिक सम्बन्ध कायम भएको ५० औँ तथा आगामी वर्ष चीन–जापान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको ४५ औँ वर्षमा प्रवेश गर्ने सन्दर्भमा विदेशमन्त्री वाङले दुवै पक्षले यी वार्षिकोत्सवका अवसरलाई द्विपक्षीय सम्बन्ध अझ दिगो र स्थिर बनाउन सदुपयोग गर्नुपर्ने बताए । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाँच बुँदे सुझाव पनि प्रस्तुत गरे ।
चीन र जापानले एकअर्कालाई विश्वासका साथ सम्मान गर्दै राजनीतिक प्रतिबद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिए । उनले द्विपक्षीय सम्बन्ध राजनीतिक आधारशिलामा टिकेको इतिहासतर्फ इङ्गित गर्दै ताइवानलगायत प्रमुख एवम् संवेदनशील मुद्दालाई विशेष रूपमा सम्हाल्नुपर्ने बताए । चीन र जापानले पनि एक अर्कालाई सहयोग गर्नु आवश्यक भएको उनको कथन थियो ।
चीनले गुणस्तरीय विकासलाई प्रवर्द्धन, खुलापन विस्तार र विकासको नयाँ ढाँचालाई बढावा दिने बताउँदै चीनको साझा विकास र समृद्धिका प्रयासले ल्याएका अवसर साझा गर्न जापानलाई स्वागत गरे । विदेशमन्त्री वाङले दुई पक्षले एक अर्कालाई इमानदारीपूर्वक व्यवहार गर्नुपर्ने तथा शान्तिपूर्ण सह अस्तित्वका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।