काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । गएराति लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हराएको छ ।
पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो ।
यस्तै राफाएल गुरेरो, राफाएल लिआअो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ।
त्यसैगरी राति नै भएको अर्को खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ।
कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो ।
पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ।