
काठमाडौँ । देउवा सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धमा कुटनीतिक नोट पठाएको छ ।
मंगलबार सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् ।
लम्सालले भनिन्–‘कुटनीतिक च्यानलमार्फत आज हामीले भारत सरकारलाई नेपालको धारणा समेटिएको कुटनीतिक नोट पठाएका छौँ । हाम्रो सवाल, हामीले गर्नुपर्ने कुराहरु, हामीले भारतीय पक्षलाई भन्नुपर्ने कुराहरू त्यसमा लेखेर पठाएका छौँ ।’
नेपालले काठमाडौंमा रहेको नेपालका लागि भारतीय राजदूतावास मार्फत सो पत्र पठाएको हो ।
केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ ।
सो सम्बन्धमा दुई देशका स्थानीयबासीबीच ढुङ्गा हानाहान समेत भएको थियो । आइतबार भारतीय भूमिबाट हानिएको ढुङ्गाले लागेर एक नेपाली बालक घाइते समेत भएका थिए । त्यस घटनापछि नेपाल भारतबीच तनाव भएको छ ।