आज :

स्याङ्जा-२ को अन्तिम मतपरिणाम बाहिरियो, धनराजसंग कति मतले हारिन एमाले सचिव पदमा अर्याल ?

  • अनलाइन डबली

स्याङ्जा। स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराएका हुन्।

अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।

यता प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन्।

जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले) का सात, नेकपा (माओवादी केन्द्र) का तीन, नेकपा (एकीकृत समाजवादी) का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको छ।

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए।

कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए।

मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार नौ सय ४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार छ सय, सुनसरी–४ मा नेकपा (एमाले)का जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरे पनि विजयी हुन सकेनन्।

त्यस्तै, मधेस प्रदेशबाट सर्लाही–३ मा नेकपा (माओवादी केन्द्र) का नरेन्द्र साह कलवारले ३२ हजार एक सय ६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजित भए।

बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय ३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार चार सय ८२ मत, मकवानपुर–२ मा नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार चार सय ३२ मत प्राप्त भएर पनि पराजित भए।

गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरूङलाई ३१ हजार सात सय ९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार एक सय १० मत पाएर पनि हार बेहोर्नुपर्‍यो।

यस्तै लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत, अर्घाखाँची–१ मा कांगे्रसकी पुष्पा भुसालले (गौतम) ४० हजार नौ सय ४५ मत, रुपन्देही–३ मा कांगे्रसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्तले ३८ हजार छ सय ९७ मत, प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त भए पनि पराजित भएका हुन्।

कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीलाई ३० हजार नौ सय ८८ मतदान भएर पराजित भएका हुन्।

सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal