आज :

गठबन्धनले जितकाे खाता खाेल्याे, मुस्ताङका २९ वर्षीय योगेश गौचन बने सांसद

  • अनलाइन डबली

पोखरा । नेपाली काँग्रेस र माओवादी सम्मिलित सत्ता गठबन्धनले जितकाे खाता खोलेको छ । मुस्ताङका २९ वर्षीय युवक योगेश गौचनले जित हात पारेपछि सत्ता गठबन्धनको बिजयी सुरुवात भएको हो ।

झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीका छोरा योगेश गौचनले जिल्लामा प्रभावशाली मानिने एमालेका नेता प्रेम तुलाचनलाई हराएर उनि सांसद बनेका छन् ।

यस पटक नेपाली कांग्रेस नेतृत्वले मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमीलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठाएको थियो । तर रोमीले आफैं उम्मेदवार हुन रुची देखाएनन् र छोरालाई टिकट दिए ।

देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचेका छन् । योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।

२०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजा भने मुस्ताङमा एमालेको पक्षमा थियो । ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष एमालेले जितेको थियो भने एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसले जितेको थियो । पालिका अध्यक्षले पाएको मतका आधारमा एमाले कांग्रेस भन्दा ४०० मतले अगाडि थियो ।

यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी (योगेशका बुवा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।

निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्व मन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए ।

नवनिर्वाचित योगेशका हजुरबुबा भने पञ्चायती व्यवस्थाका पक्षधर थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी रोमी २०३४ सालतिरदेखि कांग्रेसमा आवद्ध भएका थिए ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal