काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडुसँग झोक्किएका छन्।
राष्ट्र प्रमुखका रूपमा आफूहरूले गरेको वार्ता संवाद पत्रिकामा जस्ताको त्यस्तै आएकोप्रति असन्तुष्टि जनाउँदै सी झोक्किएको द गार्डिएनले उल्लेख गरेको छ।
सम्मेलनमा ट्रडुलाई कुनामा तानेर उनले असन्तुष्टि पोखेका थिए। ‘हामीले जे विषयमा कुरा गरेका थियौँ, जस्ताको त्यस्तै पत्रपत्रिका आयो यो राम्रो भएन। यसरी कुटनीति चल्दैन,’ सीले भनेका छन्।
सीले असन्तुष्टि पोखेपछि ट्रुडुले क्यानेडामा सबै विषय स्वतन्त्र र निष्फिक्री व्यक्त गर्ने संस्कार रहेको बताए। ‘केही चिनियाँ नीतिप्रति हामी असहमत नै छौँ। तर हामी चीनसँग रचनात्मक ढंगले काम गर्न तयार छौँ,’ ट्रुडुले सीलाई भनेका थिए।
ट्रुडुले सहकार्यको कुरा गरेपछि झोक्किंदै सीले पहिले वातावरण निर्माण गर्न भनेका छन्। ‘सहकार्य त गर्नैपर्छ तर त्यसका लागि पहिले वातावरण निर्माण हुनुपर्छ,’ सीले भनेका थिए।
क्यानेडा र चीन बीचको सम्बन्धमा सन् २०१८ देखि चिसोपना छ। अमेरिकाको पक्राउ पुर्जीमा आधारित रहेर क्यानेडाले हुवावेका कार्यकारी प्रमुख मेङ वाङजोलाई पक्राउ गरेको थियो। त्यसयता दुई मुलुकबीच आपसी सम्बन्ध तिक्ततामा परिणत भएको हो।


अनलाइन डबली


