मोरङ । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट ह त्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको ह त्या भएको हो।
छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो। उनीमाथि कसले छुरा प्रहार गर्यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ।
उनीमाथि राति १०:२५ बजेतिर छुरा प्रहार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो।
झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको कोइरालाले जानकारी दिए।
छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो। यसतै यता काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ।
आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।
नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ।
झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको गए राति मृत्यु भएको हो।
उनको गए राति १२:४० मा मृत्यु भएको एसपी मैनालीले बताए। घटनाको अनुसन्धान प्रहरी वृत्त कमलपोखरीले गरिरहेको पनि उनले बताए।