
वीरगञ्ज । आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ ।
चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म आज सार्वजनिक विदा हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।
संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।
सामाजिक एकताको झझलको दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउने विश्वास मुख्यमन्त्री राउतले गरेका छन् ।