काठमाडौं । छठको पूजा चलिरहेको बेला भारतमा एक झुलङ्गे पुल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । भारतको गुजरातको मोरबीस्थित एक नदीमा रहेको पुलले भार धान्न नसकेर भत्किएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार आज साँझ पौने ७ बजे छठ पूजा चलिरहेको बेला भत्किएको थियो ।
भारतीय संचारमाध्यमका अनुसार पुल १४० वर्ष पहिले तत्कालिन अंग्रेज सरकारले बनाएको थियो । पुल जिर्ण बन्दै गएपछि पछिल्लो ६ महिनासम्म पुल बन्द नै थियो । पुनःनिर्माण गरेर तिहारको अबसरमा पुल पुनः संचालनमा ल्याइएको थियो । पुल संचालनमा ल्याएको एक हप्तामै भत्किएको छ ।
नदी किनारमा गरिने छठको पूजा हेर्न पुलमा ५ सय भन्दा बढी मानिसहरु जम्मा भएका थिए । प्रहरीका अनुसार पुलमा क्षमताभन्दा बढी मानिसहरु रहेका कारण भत्किएको हो । पुलमा रहेका करिब १७० जनाको सकुशल उद्दार गरिएको बताइएको छ भने दर्जनौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन् । यो तत्कालिन ब्रिटिस सरकारका पालमा बनेको १५० वर्ष पुरानो पुल हेर्न पर्यटकहरु समेत जाने गरेका थिए । लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका अक्टोबर २६ मा पुनः खोलिएको थियो ।
सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् । यसैबीच राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको यो पुलमा चढ्नका लागि भारु १७ रुपैयाँ शुल्क लिइन्थ्यो । उक्त पुल गुजरातको मोरबीलाई खास पहिचान दिलाउने उद्देश्यले आधुनिक युरोपियन प्रविधि प्रयोग गरेर बनाइएको थियो । पुलको १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइको यो पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्दथ्यो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । भारत सरकारले घाइतेको उपचार कमी हुन नदिने बताएको छ ।