आज :

नेपालमा अर्को खतरनाक सबभेरियन्ट पुष्टि भएसँगै हाई अलर्टमा देउवा सरकार, गर्यो यस्तो आह्वान

  • अनलाइन डबली

काठमाडौँ। ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिचान भएकाले सजग रहन सरकारले आह्वान गरेको छ ।

पछिल्लो समय सङ्क्रमित भएकामध्ये धेरैमा एक्सबीबी सबभेरियन्ट पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारी बताउँछन् । अघिल्लो महिनाको तुलनामा सङ्क्रमित बढ्नुको मुख्य कारण ओमिक्रोनको सवभेरियन्ट एक्सबीबी भएको उनको भनाई छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार श्रावण २१ गतेदेखि असोज १४ सम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरूमा सङ्कलित नमुनाको जिनोम सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी नेपालमा पहिलो पटक पहिचान भएको थियो । सो भेरियन्ट देशका विभिन्न भागमा फैलनुका साथै कोभिड –१९ को सङ्क्रमण बढेको देखिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

कात्तिक महिना सुरु भएदेखि दैनिक ४ देखि ५८ जनासम्म सरदरमा सङ्क्रमित हुँदै आएका छन् । कात्तिक १ गते ४६ कोरोना सङ्क्रमित हुँदा २ गते ४८ सङ्क्रमित भएका थिए । यस्तै, ३ गते ५३ जनामा सङ्क्रमण पुष्टि हुँदा ४ गते ५४ पुगेको थियो ।

यस्तै क्रमशः ५ गते ४३, ६ गते ४१, ७ गते ४२, ८ गते १६, ९ गते १६, १० गते ४ र ११ गते १४ सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ ।

पछिल्लो समय सङ्क्रमित बढ्नुको कारण ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी रहेको पाइएको छ । त्यसैले सबैलाई सावधानी अपनाउन आग्रह गरेको डा. अधिकारीले सुनाउँछन् ।

‘यस भेरियन्टका कारण सङ्क्रमण बढ्छ कि भन्ने चिन्ता बढेको छ,’ उनले भने, ‘थप सङ्क्रमित बढ्न सक्ने सम्भावना रहेकाले मन्त्रालयले सबै सरकारका सबै तहलाई हाई अलर्टमा राखेको छ ।’

भारत लगायतका केही देशमा सङ्क्रमितको दर बढेको पाइएको हुँदा सजग हुनुपर्ने उनले सुनाए । अन्य भरियन्टको तुलनामा एक्सबीबी धेरै सङ्क्रामक भएको पाइएको छ ।

भारत लगायतका केही देशमा कोरोनाका दुई जेनेटिक भेरियन्ट –एक्सबीबी र एक्सबीबी.वान सङ्क्रमित धमाधम पुष्टि भएको छ । पेकिङ युनिभर्सिटीमा बायोपिकका सह प्राध्यापक युनलोन्ड रिचर्ड एक्सबीबी एन्टिबडीलाई झुक्याउन सक्ने भेरियन्ट हुनसक्ने बताउँछन् ।

यता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको सब भेरियन्टहरु देखिने क्रम जारी रहने बताए । ओमिक्रोनको सवभेरियन्ट एक्सबीबीझैँ नयाँ स्वरूप देखिने क्रम जारी रहने उनको भनाई छ ।

उनले भने, ‘यो अलिकति छिटो फैलन सक्ने क्षमता भएको सब भेरियन्ट हो भन्ने पुष्टि भएको छ । जुनजुन देशमा सङ्क्रमण देखिएको छ त्यहाँ मानवीय क्षति भने भएको अवस्था छैन ।’

नेपालमा धेरै जनाले खोप लगाइसकेकाले धेरै मानवीय क्षति हुन सक्ने सम्भावना न्यून रहेको उनको आङ्कलन छ । पहिलो, दोस्रो महामारीमा भन्दा पछिल्ला महामारीमा मानवीय क्षति कम भएको थियो । अघिल्ला महामारीलाई भन्दा अब सङ्क्रमणलाई फरक नजरबाट हेर्नुपर्ने उनले बताए ।

‘नेपालमा स्वास्थ्यमा जटिलता नआएसम्म स्वास्थ्य संस्था पुग्ने चलन छैन, त्यसैले सङ्क्रमण हुनबाट जोगिनुपर्छ,’ उनले भने । यस सवभेरियन्टबाट दोस्रो महामारीमा जस्तो सङ्क्रामक भई अस्पताल पुग्ने बिरामी दर बढ्ने सम्भावना कम हुने उनको अनुमान छ ।

‘नयाँ भेरियन्टको सङ्क्रमणबाट स्वास्थ्यमा जटिलता आउनु सामान्य ज्वरो आउने, नाकबाट पानी चुहिने र अलिअलि टाउको दुख्ने हुनकसक्छ । तर वृद्धवृद्धा र दीर्घरोगीलाई गाह्रो बनाउन सक्छ । त्यसैले सतर्क हुनुपर्छ,’ उनले भने,

शारीरिक कमजोरी, दीर्घरोगीको अवस्था अनुसार जहिले पनि कोरोना भाइरसले स्वास्थ्यमा समस्या निम्ताउन सक्ने भएकाले सबै जना सजग हुनुपर्ने उनले बताए ।

कोरोना भाइरसको स्वरूप परिवर्तन बारे सम्बन्धित निकाय जानकार बनिरहन अति आवश्यक रहेको उनी बताउँछन् । भाइरसले स्वरूप परिवर्तन भई कडा खालको भाइरस बनेर समस्या निम्त्याउन सक्ने उनले बताए ।

भाइरसले स्वरूप परिवर्तन गरी रहने भएकाले जति पनि बेला कोरोनाविरुद्धको खोपलाई चुनौती दिन सक्ने स्थिति आउन सक्ने भएकाले सचेत हुनुपर्ने डा. पुन सुनाउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal