
काठमाडौँ । तिहारको समय मानिसहरु घर गएको र रमाइलोमा व्यस्त भएको मौका पारेर काठमाडौं उपत्यकाका ठाउँ ठाउँमा चोरी भएको छ।
प्रहरीका अनुसार तिहारको रमाइलोमा व्यस्त भएका बेला नायिका प्रियंका कार्कीको घरमा पनि चोरी भएको छ।
ललितपुर महानगरपालिका-१८ भैंसेपाटी महतो मार्गस्थित नायिका प्रियंका कार्कीको कोठाबाट नगद ३० हजार ५ सय रुपैयाँ र सुनका गहनासमेत गरी करिब ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ।
प्रहरीका अनुसार कोठामा कोही नभएको मौकामा चोरी भएको हो। यसबारेमा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले जनाएको छ।
त्यसैगरी भक्तपुरकोसूर्यविनायक नगरपालिका-४ दधिकोट संगमटोल बस्ने ६८ वर्षीय नगेन्द्र प्रसाद पौडेलको घरमा पनि चोरी भएको छ।
घरबाट सुनका गहना,नगद र तामाको थाली ३ थानसमेत ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ।
बर्दियाको गुलरिया नगरपालिका-४ संगमबस्ती टोल बस्ने प्रताप पोखरेलको घरबाट सुनका विभिन्न गहना, नगद ५५ हजार रुपैयाँ र मोबाइल २ थान समेत गरी ४ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ।
ती स्थानमा तत्काल नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्नको खोजी गरिरहेको छ।