आज :

काठमाडौंको यो होटल जहाँ बस्न आउनेहरुको अश्लिल-गोप्य भिडियो आफै बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

  • अनलाइन डबली

काठमाडौँ । होटलमा बास बस्न पुगेका ग्राहकको गोपनीयता कायम राख्नु र उनीहरुको सुरक्षाको प्रबन्ध गर्नु प्रत्येक होटल तथा लजको दायित्व हो । होटलमा कार्यरत कर्मचारी र म्यानेजरले ग्राहकको गोपनीयता र सुरक्षाका लागि व्यवस्था गर्नैपर्ने हुन्छ ।

तर, लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बासबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अ श्लील भिडियो गोप्यरुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार गोप्यरुपमा ग्राहकको अ श्लील भिडियो रेकर्ड गर्ने लजका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी गर्थे अ श्लील भिडियो रेकर्ड
चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ स्थायी ठेगाना भएका माली रेष्ट्रो एण्ड क्याफेमै बस्ने गर्दथे । आफ्नै योजनामा मालीले लजको कोठा तथा बाथरुमको ढोकामा सानो सानो प्वाल बनाएर मोबाइल र अन्य डिभाइसबाट भित्रको अन्तरङ्ग भिडियो र अ श्लील दृश्यहरु रेकर्ड गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । जब ग्राहकहरु लजको कोठा वा नुहाउनका लागि बाथरुममा प्रवेश गर्थे, माली आफैले मोबाइल तथा अन्य डिभाइसबाट भिडियो रेकर्ड गर्न सुरु गर्थे ।

युवतीले थाहा पाइन् म्यानेजरको कर्तुत
कात्तिक २ गते बुधबार एक युवती आफ्नो परिवारसँग खानपिन र बास बस्नका लागि बाँसबारीस्थित उक्त लजमा पुगेकी थिइन् । बुवा–आमासँगै लजमा पुगेकी युवती नुहाउनका लागि भनेर जब बाथरुममा पुगिन्, उनले ढोकामा सानो प्वाल देखिन् ।

उक्त ढोकाको प्वालबाट कसैले चिहाइरहेको वा अनधिकृत गतिविधि भइरहेको उनलाई आभास भयो । ढोका बाहिरबाट कसैले भिडियो खिचिरहेको जानकारी उनले पाइन् । त्यसलगत्तै युवतीले अनधिकृत गतिविधिबारे प्रहरीलाई जानकारी गराइन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोली लजमा पुगेर अनुसन्धान सुरु गर्यो । प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली लजमा पुगेर अनुसन्धान गर्दा यस्तो हर्कतमा म्यानेजर मुकेश माली आफै संलग्न रहेको प्रहरीले जानकारी पायो ।

मालीको मोबाइल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौं अन्तरङ्ग र अश्लील भिडियो फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले भन्यो ‘कसैले भिडियो रेकर्ड गरेको उजुरी परेपछि प्रहरी उक्त लजमा पुगी अनुसन्धान गर्दा ढोकामा प्वाल पारिएको भेटियो । ढोकामा प्वाल पार्नुको अन्य कुनै उद्देश्य नदेखिएपछि हामीले म्यानेजरसहितका कर्मचारीको मोबाइल जफत गरेर अनुसन्धान गर्यौं । अनुसन्धानका क्रममा म्यानेजरकै मोबाइलमा दर्जनौं अन्तरङ्ग र अश्लील भिडियो फेला पारेका छौँ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

म्यानेजर मालीको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौं अ श्लील भिडियो भेटिएको छ । प्रहरीका अनुसार नाम थर र वतन नखुलेका दर्जनौं व्यक्ति र जोडीको अन्तरङ्ग तथा अश्लील भिडियो मुकेशको मोबाइलमा भेटिएको हो । मोबाइलको फरेन्सिक परीक्षणका लागि ल्याबमा पठाइएको र त्यसपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरीले बताएको छ ।

अ श्लील भिडियो रेकर्डको उद्देश्य खोज्दै प्रहरी
मालीले कुन उद्देश्यले भिडियो रेकर्ड गरेका हुन् हालसम्म खुल्न सकेको छैन । कात्तिक २ गते अपरान्ह २ बजे मात्रै पक्राउ गरिएको र कात्तिक ३ गते काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । भर्खरै पक्राउ परेको कारण अश्लील भिडियो रेकर्ड गर्नुको उद्देश्य खुल्न सकेको छैन । ब्ल्याकमेल गरी रकम असुल गर्न वा अन्य कुन प्रयोजनले गोप्यरुपमा भिडियो रेकर्ड गरिएको हो, सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मालीले प्रहरीसमक्ष प्रारम्भिक बयान दिँदा भने आफू अश्लील भिडियोको एडिक्सनमा परेको कारण आफ्नै मनोरञ्जनका लागि भिडियो रेकर्ड गरेको बताएका छन् । मालीले अ श्लील भिडियो रेकर्ड गरेर पोर्न साइट वा अन्यत्र अपलोड गरे नगरेको वा कुनै व्यक्तिसँग सेयर गरेको वा नगरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तत्कालका लागि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । यद्यपि प्रहरीले अन्य अनुसन्धानबाट भिडियो अन्यत्र पठाएको वा सेयर गरेको पाइएमा साइबर अपराधको कसुरमा मुद्दा लैजाने तयारी गरिरहेको छ ।

एसपी मैनालीले ग्राहकको चलाखीले ठूलो दुर्घटना रोकिएको दावी गरे । होटलको कोठामा गोप्य क्यामेरा प्रयोग गरी अन्तरङ्ग दृश्य रेकर्ड गर्ने र पछि ब्ल्याकमेल गर्नेसम्मको खतरा टरेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal