आज :

सरकारविरोधी प्रदर्शनकारीहरू राखिएको कुख्यात जेलमा आगजनी, ४ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । इरानको कुख्यात इभिन जेलमा भएको आगलागीमा चार जनाको मृत्यु हुनुका साथै ६१ जना घाइते भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ।

इभिन जेल राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो। जेलप्रशासन स्रोतले मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्ने बीबीसीसँग बताएको छ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा तेहरानस्थित उक्त कारागार क्षेत्रबाट धुवाँ र आगोको मुस्लो फैलिएको देखिन्छ। उक्त क्षेत्रमा गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको छ।

एक अधिकारीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले अवस्था नियन्त्रणमा आइसकेको जनाएको छ। यद्यपि भिडिओहरूमा आगो लागिरहेको देखिन्छ।

इरानमा केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेका छन्। गत महिना २२ वर्षकी कुर्दिस इरानी मूलकी महसा अमिनिको प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरु भएको थियो।

प्रहरीले उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेपछि परिवारले उक्त दाबी अस्वीकार गरेको छ। उनलाई यातना दिइएको परिवारको आरोप छ। तर शनिवार कारागारमा भएको आगलागी यो घटनासँग सम्बन्धित भए वा नभएको खुल्न सकेको छैन।

प्रदर्शनमा सहभागी सयौँ मानिसहरूलाई यही जेलमा राखिएका कारण घटनामा यो पनि कारण हुनसक्ने बीबीसी पर्सियन सेवाका राना रहिमपूरले बताएकी छन्।

सरकारी सञ्चारमाध्यमले चाहीँ एक अधिकारीलाई उद्धृत गर्दै आगलागीको घटना प्रदर्शनसँग सम्बन्धित नभएको र आगजनीमा “आपराधिक तत्त्व” संलग्न भएको उल्लेख गरेको छ। सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार घटनामा आठजना घाइते भएका छन्।

तेहरानका गभर्नरले जेलभित्रैबाट सरकारी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै कारागारको अपराधीहरूलाई राख्ने भागमा दङ्गा भएको र स्थिति नियन्त्रणमा आइसकेको बताएका छन्।

समाचार एजेन्सीले राखेका तस्बिरहरूमा आगलागीका कारण जेलभित्र क्षति भएको देखिन्छ। आगो र धुवाँको तस्बिर सबैभन्दा पहिले शनिवार साँझ सामाजिक सञ्जालमा देखा परेका थिए।

ती भिडिओहरूमा गोली चलेको आवाजसँगै जेल बाहिर भएका मानिसहरूले “निरङ्कुशको अन्त्य” भनिरहेको सुनिन्छ। यो शब्द इरानमा जारी आन्दोलनमा सरकार विरोधीहरूको नारा हो।

भिडिओहरूमा कारागार परिसर बाहिरबाट भित्रतर्फ केही वस्तु प्रहार गरिएको र जसलगत्तै विस्फोट भएको देखिन्छ। कारागार बाहिर ठूलो भिड जम्मा भएको, सवारी आवागमन अवरुद्ध भएको र दङ्गा प्रहरी जेलभित्र प्रवेश गरेको देख्न सकिन्छ।

स्थिति सामान्य भइसकेको इरानी सञ्चार माध्यमहरूको दाबी विपरीत आगलागी र गोली चलेका दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन्।

बीबीसीका स्थानीय संवाददाताका अनुसार राजनीतिक बन्दीहरू राखिएको भागमा कैदी, बन्दीहरू जेलको छतमा उक्लिएको पनि तस्बिरहरूमा देखिएको छ।

केही कैदी, बन्दीहरूको परिवारका सदस्यले घटनापछि भित्र रहेका आफन्तसँग सम्पर्क गर्न नसकिएको बीबीसीसँग बताएका छन्। कारागार आसपासको क्षेत्रमा इन्टरनेट सुविधा बन्द गरिएको छ।

यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवअधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्।

गतवर्ष ह्याकरहरूबाट बाहिरिएको एउटा भिडियोमा सुरक्षाकर्मीबाट बन्दीहरूलाई कुटपिट गरिएको देखिएको थियो। उक्त जेलमा आफ्ना नागरिक रहेका केही देशहरूले आगलागीको घटनाबारे चासो व्यक्त गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal