काठमाडौँ । रुसी सेनाको तालिम केन्द्रमा गोली चलेको छ । ११ सैनिकको ज्यान जान गरी दुई जनाले अन्धाधुन्द गोली चलाएका थिए । उनीहरु युक्रेनको पक्षमा रुसविरुद्ध लडिरहेका लडाकु रहेको रुसी संचारमाध्यमहरुले बताएका छन् । युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा चलिरहेको तालिम केन्द्रमा दुई जना व्यक्तिले गोलीबारी गरेको सरकारी समाचार एजेन्सी आरआईएले जनाएको छ । यस विषयमा रुसी रक्षा मन्त्रालयले पुष्टि गर्दै आक्रमणकारीहरु पूर्व सोभियत संघको कुनै देशका नागरिक भएको बताएको छ ।
एकाएक गोली चलाउने व्यक्ति रुसी सेनाको जवाफी कारवाहीको मृत्यु भएको छ । घटनामा १५ जना सैनिक गम्भीर घाइते भएका छन् । यहाँ युक्रेन जाने सैनिकलाई तालिम दिइन्थ्यो ।
सरकारको आह्वानमा युक्रेन युद्धमा जान रुसी युवाहरु तयार भएका थिए । रुसी रक्षामन्त्री सर्गेई शोइगुले दुई लाखभन्दा बढी मानिस मिसनमा सामेल हुन चाहेको बताएका छन् ।
क्रिमिया पुलमाथि युक्रेनले गरेको हमलापछि रुसले एकैसाथ १२ सहरमा मिसाइल हमला गरेको थियो । त्योभन्दा पछि केही हमला कम हुँदै गएका थिए । यो घटनासँगै रुसी सेनाले हमला बढाउने अनुमान गरिएको छ ।
तालिम केन्द्रमा गोली चलाएको विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एक अन्तरवार्तामा आक्रमणकारीहरू मध्य एसियाली देश ताजिकिस्तानका छन् । उनले धर्मको नाममा विवाद भएपछि गोली चलाएको दाबी समेत गरे । यसलाई रुसी अधिकारीहरुले घटनालाई विषयान्तर गर्न गरिएको प्रचार भनेका छन् ।
करिब एक सय मिसाइल प्रहार गरेर रुसी सेनाले सैन्य कारवाहीको सुरुवाती चरणमा जस्तै विश्वमा हलचल मच्चाएको थियो । क्रिमिया पुलको रक्षाको दुईवटा युद्धपोत खटिएका छन् । त्यहाँ पुनः युक्रेनले हमला गर्न सक्ने भन्दै एन्टी मिसाइल सिस्टम पनि रुसी सेनाले एक्टिभ गरेको छ ।