काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।
नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।
उक्त प्रस्तावमा भनिएको छ,– ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’
उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ । युक्रेन युद्धले एशियाली अर्थतन्त्रलाई व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ ।
एसिया प्रशान्त क्षेत्रमा विभाजनको जोखिम धेरै गम्भीर रहेको आइएमएफका एक शीर्ष अधिकारीले चेतावनी दिएका छन् । ‘यदि तपाईले युक्रेन युद्धलाई हेर्नुभयो भने त्यहाँ एकभन्दा बढी च्यानल छन् जसमार्फत यसले एसियालाई प्रभावित गरेको छ ।
अवश्य पनि एउटा गिर्दो बाह्य माग हो । एसियाको रुससँग धेरै बलियो व्यापार सम्बन्ध छैन् । तर, युरोपसँग एसियाली बजार सम्बन्ध धेरै उच्च छ । त्यो हदसम्म युरोप युक्रेन युद्धबाट प्रभावित छ । यसले एसियाली देशको बाह्य मागमा असर गर्छ’, आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले भने ।
युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा वृद्धि भएको उनको भनाइ छ । श्रीनिवासनका अनुसार व्यापार अनिश्चितता अर्को गम्भीर विषय हो ।