आज :

काठमाडौं– १ मा चर्चित अनुहारबीच कडा टक्कर- प्रकाशमान, रवीन्द्रदेखि रमेश खरेलसम्म क-कसको पर्यो उम्मेदवारी

  • अनलाइन डबली

काठमाडौँ । प्रायः सधैं चर्चामा रहने काठमाडौ निर्वाचन क्षेत्र नम्बर एकमा यसपटक पनि रोचक भीडन्त हुने भएको छ । यो क्षेत्रमा गत २०७४ को निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका थिए । आगामी मंसिर ४ मा हुने निर्वाचनमा पनि यो क्षेत्रमा चर्चित अनुहारबीच भीडन्त हुने निश्चित भएको छ ।

काठमाडौं १ मा यसपटक सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं प्रतिनिधि सभा सदस्य पदमा प्रकाशमान सिंह, एमालेका तर्फबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र तथा नेपाल सुशासन पार्टीबाट पुर्व प्रहरी डीआइजी रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमको उम्मेदवारी परेको छ ।

आइतबार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बताए ।

उनले मंसिर ४ को निर्वाचनबाट आउने संसदले संविधानको मर्म अनुरुप प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाई संघीय कानूनहरु बनाउने दावी गरे । आफूले स्वास्थ्य तथा पर्यावरणको क्षेत्रलाई पनि ध्यान दिने बताएका सिंहले जनताका तमाम समस्याहरु सम्बोधन गर्नेगरी नेपाली कांग्रेस अघि बढ्ने पनि बताए ।

‘नेपाली जनताले पिरोलिरहेका तमाम समस्याहरु सम्बोधन गर्न सक्नेगरी हामी अगाडी बढ्छौँ । संविधानलाई केन्द्रमा राखेर संविधानको मर्म र भावना अनुसार संघीयताको अधिकार अनुरुप प्रादेशिक सरकार स्थानीयमा जाने अधिकारहरु कम्युनिष्ट सरकारले दिन नसक्दा संघीयताप्रति वितृष्णा छ, कमीकमजोरीलाई हटाएर संविधानको मर्म र भावना अनुसार आवश्यक संघीय कानूनहरु बनाइनेछ’, सिंहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै भने ।

त्यस्तै नेकपा (एमाले) का तर्फबाट काठमाडौं–१ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार किरण पौडेलले आफ्नो क्षेत्र देशकै राजनीतिक इपीसेन्टर भएपनि सो अनुसारको अनुभुति गर्न नसकिएकाले आफ्नो उम्मेदवारी भएको बताए ।

उनले आफू पार्टीको उम्मेदवार भएको भन्दै राष्ट्रियता र स्वाधिनताको मुद्दामा पार्टी स्पष्ट भएकाले आफूहरुले जनताको मत पाउने विश्वास व्यक्त गरे । राष्ट्रियता, स्वाधिनता र समृद्धिको कुरा सदनमा सशक्त रुपले उठाउने उनको भनाइ छ ।

त्यसैगरी काठमाडौ १ का अर्का चर्चित अनुहारमध्येमा पर्छन् हालै विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका रवीन्द्र म्श्रि । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता मिश्रले राजनीतिमा देखिएको विकृतिको जञ्जाल तोड्न आफूले उम्मेदवारी दिएको बताए ।

अर्थ राजनीतिक एजेण्डालाई ओझेलमा पनि पार्न नदिने भन्दै उनले गुणस्तरीय र निःशुल्क सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका साथै विदेशी हस्तक्षेप रोक्न आफु लागि पर्ने बताए । ‘देशको जुन विकृत राजनीति छ, विकृतिको जञ्जाल छ । त्यो नतोडी भएन । त्यो तोडिएन भनेदेखि यो देश यसैगरी अरु दशकौँ सघ्रिरहने सम्भावना देखेको छु । त्यसकारणले त्यो विकृतिको जञ्जाल तोड्नुपर्छ र यो देशलाई दीर्घकालका लागि शान्त, स्थिर, स्वाधिन, सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ’, मिश्रले आइतबार उम्मेदवारी दर्तापछि प्रतिकृया दिदै भने,‘विदेशी हस्तक्षेप बढीरहेको छ । त्यसलाई रोक्नसक्ने क्षमता भएको नेतृत्व हामीसँग छैन ।’ यसअघि एमालेले मिश्रलाई सघाउने भनेपनि पौडेललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दर्ता गरेका रमेश खरेलले हालसम्म सदनमा कानून बनाउने मानिस नगइ कानून भत्काउने मानिसहरु गइरहेको टिप्पणी गरे । उनले सदनको प्रतिष्ठा बढाउनका लागि कानून बनाउने मानिस सदनमा पठाउनुपर्ने भन्दै सदनमा संगठित अपराधीहरुको संख्या घटाउन आफ्नो उम्मेदवारी परेको बताए ।

‘३३ वर्षसम्म यहाँ ल मेकर कोहीपनि हुनुभएन, सबै ल ब्रेकर भएको हिसावले अब ल मेकर सदनको मर्यादा बढाउनुपर्ने हुन्छ । यहाँ ल मेकरको आवश्यकता छ । ब्रेकरको आवश्यकता होइन । सदनको प्रतिष्ठा बढाउनको लागि, यसको सम्मान बढाउनको लागि, र यो सदनमा संगठित अपराधीहरुको संख्या घटाउनको लागि मेरो उम्मेदवारी हो’, खरेलको भनाइ छ । खरेल नेपाल प्रहरीका पुर्व डीआइजी हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर उम्मेदवारी दर्ता गराएका पुकार बमले परिवर्तनको लागि आफ्नो उम्मेदवारी परेको बताएका छन् । उनले युवाहरु सदनमा आउनुपर्ने भएकाले आफ्नो उम्मेदवार बनेको बताएका छन् । बम लामो समयदेखि सामाजिक कार्यमा संलग्न छन् । देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal