
काठमाडौँ । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको सिट संख्या बाँडफाँटमा सहमति जुटाउन सकेको छैन। बिहीबारको बैठक पनि बिना निष्कर्ष सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे र साँझ ६ बजेगरी दुई चरणमा बसेको बैठक बिना निस्कर्ष सकिएको एक नेताले जानकारी दिए। सहमति गर्नेगरी बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने उनले बताए।
शुक्रबारको बैठकमा सिट संख्याबारे पनि कुरा हुनेछ। बिहीबारको बैठकमा कांग्रेस–माओवादी, जसपा–माओवादी, नेकपा एकीकृत समाजवादी–माओवादी र कांग्रेस तथा जसपा र एकीकृत समाजवादीबीच दुईपक्षीय र त्रिपक्षीय छलफल पनि भएको थियो।
तर, कांग्रेसले यसअघि लचक हुने बताएपनि आजको बैठकमा त्यो नदेखाएको सिट बाँडफाँटका लागि बनेको कार्यदलका एक सदस्यले जानकारी दिए।
कार्यदल सदस्यका अनुसार प्रतिनिधि सभा तर्फको १ सय ३० क्षेत्रमा लगभग सहमति जुटिसकेको छ। अब बाँकी ३५ क्षेत्रमा कुरा मिलाउन बाँकी छ। बिहीबारको बैठकमा तिनै बाँकी क्षेत्र मिलाउने प्रयास भएपनि कांग्रेसको अडानले नसकिएको ती नेता बताउँछन्।
गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यको बैठकमा अहिलेसम्म प्रतिनिधि सभाको सिट संख्या पाँच दलबीच बाँडफाँट मै कुरा मिलिसकेको छैन।
प्रतिनिधि सभाको १६५ क्षेत्रको बाँडफाँट गरेपछि गठबन्धन प्रदेश तहको प्रत्यक्ष तर्फका ३३० क्षेत्रमा छलफल गर्ने नेताहरुले बताए।
२१ साउनमा सिट बाँडफाँटबारे सहमतिको मस्यौदा बनाउन ११ सदस्यीय कार्यदल बनेको थियो। बैठक लगातारजसो बसेपनि अहिलेसम्म सहमति जुटाउन सकेको छैन।