आज :

काठमाडौं व्यापारी हत्याकाण्ड- प्रहरीले बल्ल भेटायो यस्तो कनेक्शन, जोडियो खतरनाक अन्डरवर्ल्ड डन समूह

  • अनलाइन डबली

काठमाडौं । सोमबार साँझ गोठाटारमा भएको लाल मोहम्मद हत्यामा अन्डरवर्ल्ड डन छोटा राजन समूहको कनेक्सन भेटिएको छ । ह त्याको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई नेतृत्वमा गठित अनुसन्धान समितिले मोहम्मदको ह त्यामा भारतको दिल्ली घर भइ नेपाल बस्दै आएका नितिन मदनको संलग्नता भेट्टाएकोे छ ।

नितिन मदन तिनै व्यक्ति हुन्, जसको छोटा राजन समूहका एक मुख्य सहयोगी उदय सेट्ठीसँग सम्बन्ध छ । नितिन मदनको अपहरण आरोपमा हाल रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नियमित टेलिफोन सम्पर्क हुने गरेको पाइएको छ ।

विगतमा नेपालमा मारिएका कमलसिंह नेपाली, सांसद मिर्जा दिलसाद बेग, अब्दुल मजित मनिहार र कारागारमा भएको युनुस अन्सारीको हत्या प्रयासमा पनि छोटा राजन समूहको संलग्नता खुलेको थियो ।

भारतविरुद्ध गतिविधि गरेको आरोपमा जति पनि नेपाली मारिएका छन्, उनीहरुको ह त्यामा छोटा राजन वा बब्बु श्रीवास्तवको समूह प्रयोग हुने गरेको इतिहास छ ।

कारागारमा युनुस अन्सारीलाई मनमित सिंहले गोली हान्दा नेपाल प्रहरीका एक अधिकृतलाई छोटा राजन बताउने व्यक्तिले फोन गरेर आफूले मार्न लगाएको बताएका थिए । जमिम शाहको ह त्यामा बब्लु श्रीवास्तवको समूहको संलग्नता देखिएको थियो ।

छोटा राजन र बब्लुलाई भारतीय खुफिया एजेन्सीले प्रयोग गर्ने गरेको विभिन्न समयमा गठित छानविन समितिका प्रतिवेदनहरुको निष्कर्ष छ । लाल मोहम्मद हत्यामा पनि त्यही दोहोरिएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

खुल्यो नजिकै होटलमा बस्ने आरोपी पहिचान
मोहम्मद मारिनु तीन दिन अघिबाट नितिन मदन घटनास्थलबाट ३ सय मिटर अगाडि रहेको कोशीपारि गेष्ट हाउस एण्ड होटलमा बसिरहेको पाइएको छ । होटलका कर्मचारीले बताएअनुसार रजिष्टरमा उनले जितेन खानका रुपमा आफ्नो परिचय खुलाएका छन् ।

‘जितनको नामबाट त्यहाँ बसेको व्यक्ति नै नितिन मदन भएको खुलेको छ,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनले नै हतियार व्यवस्थापनदेखि सुटरसम्म ल्याउने काम गरेको देखिएको छ ।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले होटल कोशीपारि गेष्ट हाउसको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गरेको छ, जसमा मोहम्मदलाई भेट्न आउने व्यक्तिहरु पनि देखिएका छन् । तिनैमध्येका दुईजना सुटर हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

उनीहरुले प्रयोग गरेको एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । यद्यपि, त्यो मोटरसाइकल मोहम्मद हत्याका क्रममा प्रयोग भएको थिएन ।

सेट्ठी र नितिन मदनको नियमित सम्पर्क
अन्डरवर्ल्ड डन सेट्ठी भारतमा मोस्ट वान्टेड भएपछि नेपाल छिरेका अपराधी हुन् । उनको अन्डरवर्ल्ड डन छोटा राजन समूहसँग निकट सम्बन्ध छ । कुनैबेला मुम्बईमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्‍याउने काम गर्ने सन्तोष सेट्ठीमार्फत उनले छोटा राजन समूहसँग सम्बन्ध बनाएको स्रोतको भनाइ छ ।

सन्तोषले त्यसबेला मुम्बईको चर्चित फजल अल रहमान समूहसँग पनि काम गरेका थिए । सन्तोषमार्फत नै उदय छोटा राजन समूहसँग नजिकिएका थिए ।

भारतमा इन्काउन्टरमा पर्ने जोखिम बढेपछि उनी २०५९ सालमा नेपाल प्रवेश गरेको विशेष ब्यूरोको एक रिपोर्टले देखाउँछ । नेपाल छिरेपछि उनी ‘किडन्यापिङ किङ’ अमर टण्डनसँग जोडिएका थिए । त्यसपछि उनले टण्डनसँग मिलेर नेपालमा अपहरणको श्रृंखला चलाएका थिए । २०६४ सालको फागुनमा टण्डन पक्राउ परेपछि सेठ्टीले अपहरणको गिरोह चलाएका थिए ।

टण्डन पक्राउ परेपछि सेठ्टीले आफ्नो समूह बनाएर पहिलो पटक सामाखुशीका व्यवसायी केदार कक्षपतीका छोरा निरजलाई अपहरण गरेर एक करोड ५० लाख रुपैयाँ फिरौती असूलेका थिए ।

पछि २०६६ साल पुसको अन्तिमतिर तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अर्जन भन्ने उदय सेट्ठी, प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्की गरी ५ जनालाई पक्राउ गरेको थियो ।

मुम्बईमा रहेर त्यहाँका कारागारहरुमा खाना पुर्‍याउने काम गर्ने गर्दागर्दै सेट्ठीले अन्डरवर्ल्डका सदस्यहरुसँग सम्बन्ध बनाएका थिए । मुम्बईमा इन्काउन्टरमा मारिने डर भएपछि उनी नेपाल आएर अपहरणको धन्दामा संलग्न भएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतले बताए अनुसार रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन उदय सेट्ठीले जेलमै बसेर पनि आफ्नो गतिविधि सञ्चालन गरिरहेको पाइएको छ । त्यसका लागि उनले नितिन मदनलाई पनि प्रयोग गर्ने गरेको पाइएको छ ।

स्रोतको दाबीअनुसार नितिन मदनले पटकपटक रसुवा कारागारमा गएर पनि सेट्ठीलाई भेटेको पाइएको छ । सेट्टीले पनि रसुवा कारागारबाट पटकपटक फोन गरेको देखिन्छ ।

स्रोतका अनुसार एक वर्षअघि न्यूरोडमा हुण्डी कारोबारको ७० लाख नेपाली रुपैयाँ र ३० लाख भारतीय रुपैयाँ लुटिएको थियो । त्यसपनि मदनको समूह जोडिएको आशंका गरिएको छ ।

पछिल्लो समय भने नितिन मदन, लाल मोहम्मदसँग नजिकिएका थिए । उनै नितिन मदनको योजनामा लाल मोहम्मद मारिएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal