
सर्लाही । राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवानेता सुनिलप्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । युवानेता गुप्ताले जनताको चाहनाअनुसार नै आफू मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेद्वारीको घोषणा गरेको दाबी गर्छन् ।
उनले भने, ‘म विद्यार्थीकालदेखि नै मधेशको राजनीतिमा सक्रिय भएको हुँ । विभिन्न मधेशवादी दलहरुमा लागेर मधेशको मुद्दाहरु उठाउँदै आएको थिएँ । तर ती दलहरुले मुद्दा छोडिसकेकाले स्वतन्त्ररुपमै लड्ने निर्णयमा पुगेको हुँ ।’
कुनै दलले तपाइँलाई टिकट नदिने भएपछि स्वतन्त्रमा उम्मेद्वारी घोषणा गर्नुभएको हो भन्ने प्रश्नमा गुप्ताले भने, ‘मलाई अहिले पनि विभिन्न पार्टीबाट टिकटका लागि अफर आइरहेका छन् । तर म स्वतन्त्ररुपमा मै उम्मेद्वारी दिनेछु र जित्नेछु भन्ने मलाई विश्वास छ ।’
देशभरि अहिले स्वतन्त्र उम्मेद्वारको अभियान चलेको पनि आफू स्वतन्त्ररुपमा नै जाने उनले बताएका छन् । गत स्थानीय चुनावमा बालेन साह, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेद्वारहरु जितेकोले सोबाट प्रभावित भएर स्वतन्त्र उम्मेद्वार घोषणा गरेको उनी बताउँछन् ।
केही समय पहिला गुप्ता लगायतका युवा नेताहरुले मधेशी जनता पार्टी पनि गठन गरेका थिए । तर सो पार्टीलाई निरन्तरता दिन सकेनन् । उनले आफू यदि जिते भने मधेशी जनता पार्टीलाई पुनः जीवित गर्ने बताएका छन् ।