काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाखौं, करोडौं जनताको बीचमा पनि एक्लोजस्तो लाग्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीद्वारा लिखित ‘पलपलको मृत्यु’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले ‘जनयुद्ध’का दिनमा एक्लै हिँड्दा पनि लाखौं, करोडको बीचमा हिँडेजस्तो अनुभूति हुने गरेको बताए।
‘जनयुद्धको ती दिनमा हामी सम्पूर्ण रूपमा समर्पित थियौं। हिजो एक्लै हिँड्दा लाखौं, करोडौंको बीचमा भएजस्तो लाग्थ्यो,’उनले भने,’अहिले लाखौं करोडौंको बीचमा छौं। तर एक्लोजस्तो लाग्छ।’ उनले समाजवादको यात्रामा आफ्नो पार्टी अझै पनि लागिरहेको बताए।
कार्यक्रममा सुदन किराँतीले ‘जनयुद्ध’मा भोगेको जेलको कष्टपूर्ण समय, उनको परिवारले भोगेको पीडा अनि छोराको चिन्ताले रक्सीको दुर्व्यसनीमा परेकी आमाको कारूणिक अवस्थालाई झल्काउने गरी नाटक देखाइएको थियो।
नाटक हेरिसकेपछि प्रचण्डले किराँती दुई पटक सांसद भइसकेकाले अब मन्त्री, प्रधानमन्त्री अनि राष्ट्रपति ठूलो कुरा नरहेको भन्दै उनलाई शुभकामना समेत दिएका थिए।
पुस्तकमा किराँतीको छापामार यात्रा, जेलमा भोगेको कष्ट, ‘जनयुद्ध’का क्रममा माओवादीभित्र देखिएको अन्तरसंघर्ष लगायतका विषय उल्लेख छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली




