काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।
अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अदालतले सन्दीपलाई पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जहाँ र जस्तोसुकै अवस्थामा पनि पक्राउ गर्न सक्छ । प्रहरी स्रोतका अनुसार सन्दीप स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गर्ने तयारी रहेको छ ।
लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।
प्रहरीमा परेको उजुरीअनुसार दिउँसो लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। फर्किएर गौशालाको एक होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।
प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण संकलन गरेको छ। भदौ ५ गते भक्तपुरका विभिन्न क्षेत्रमा घुमरे राती स ११ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका ९ स्थित एक होटेलमा पुर्याएर लामिछानेले करणी गरेको उजुरीमा उल्लेख गरिएको छ।
होटेलको कोठा नम्बर ३०५ मा रातिको समयमा करणी भएको जनाइएको छ। घटना भएको भोलिपल्ट नै कप्तान लामिछाने केन्याविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि उडेका थिए।
जानुभन्दा अघिल्लो दिन आफूलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्। लामिछानेसँग उनको सामाजिक सञ्जालमार्फत भेट भएको जाहेरीमा उल्लेख गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।
स्न्याप च्याटमा कुराकानी गर्दै जाँदा काठमाडौंको एक होस्टेलमा बस्दै आएकी किशोरी लामिछानेसँग जोडिएकी हुन्। लामिछानेको आफू फ्यान भएकाले भन्दै कुराकानी सुरु भएको युवतीले बताएकी छिन्।
सहमतिमै पनि १८ वर्ष नपुगी यौन सम्बन्ध राख्न नेपालको कानुनले बर्जित गरेको छ। यदि जाहेरीमा उल्लेख भएअनुसार घटना भएको पुष्टि भएमा १० देखि १२ वर्ष कैद सजायको सम्भावना रहन्छ।
प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गरिसकेको छ। अब प्रहरीले घटना भएको भनिएको होटलमा पुगेर थप प्रमाण संकलन र अन्य कोणबाट अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


