काठमाडौँ । बेलारुसले अमेरिका र उसका सहयोगी देशहरुमा परमाणु हमला गर्ने चेतावनी दिएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले आफूहरुले परमाणु हमला गर्न सक्ने गरी फाइटर विमान अपग्रेड गरिसकेको बताउँदै पश्चिमा देशहरुले अझै उक्साउने कार्य बन्द नगरे हमला गर्ने चेतावनी दिएका हुन् ।
लुकाशेन्कोले आफूहरुले नेटो देशहरुलाई निसानामा राखेको समेत बताए । उनले आफ्नो देशलाई परमाणु हमला गर्न बाध्य बनाइए नेटो देशका विमान र हेलिकोप्टर पूरै ध्वस्त पारिदिने चेतावनी समेत दिएका छन् ।
बेलारुसका सरकारी संचारमाध्यमले आफ्नो देश परमाणु हमला गर्न सक्षम भएको समाचार प्रसारण गरेका छन् । परमाणु हतियारबाट हमला गर्न सक्ने विमान अपग्रेड गरिएको समाचारमा बताइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
“पश्चिमी देशहरुले यो बुझ्नुपर्छ यो अवस्था भड्काउने जारी राखे कसैको हेलिकोप्टर वा विमान बच्ने छैनन्” राष्ट्रपति लुकाशेन्कोले भने । उनले आफू र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसमा भएको भेटमा विमान मोर्डिफाई गर्ने कुरा भएको बताउँदै उक्त कार्य आफ्नो देशले सम्पन्न गरेको समेत बताए ।
“पुटिन र मेरो पीटरवर्गमा भएको भेटमा बेलारुसका विमान मोर्डिफाई गरौं ताकी परमाणु हतियार लिएर हमला गर्न सकोस् भन्ने कुरा भएको थियो । त्यो कार्य हामीले सकेका छौं, अब परमाणु अस्त्र प्रहार गर्ने छौं” लुकाशेन्कोले भने । उनले सुखोई–२४ को मोर्डिफाई जुन महिनामा सम्पन्न भएको समेत बताएको ब उनले
राष्ट्रपति लुकाशेन्कोले आफूहरुको हमलाबाट हुने क्षतिको पश्चिमा देशहरुले कल्पना समेत गर्न नसक्ने समेत दाबी गरे । बेलारुस युक्रेनमा सैन्य कारवाही गर्ने रुसको कदमको समर्थन गर्दै आएको छ । उसले आवश्यक परेको अवस्थामा रुसी सेनालाई आफ्नो जमिन र हवाई क्षेत्र प्रयोग गर्न अनुमति यसअघि नै दिइसकेको छ । तर, सैनिक भने पठाएको छैन ।
यसअघि सीमा क्षेत्रमा नेटो सेनाले गतिविधि बढाएको भन्दै बेलारुसले रुससँग परमाणु हतियार मागेको थियो । परमाणु हतियारसँगै एन्टी मिसाइल सिस्टम पनि बेलारुसले तैनाथ गरिसकेको छ ।