आज :

डोनल्ड ट्रम्पको घरमा छापा मार्दा भेटिए यस्ता गम्भीर प्रमाण, एफबीआईले खोल्यो रहस्य

  • अनलाइन डबली

बीबीसी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको “अवरोधको प्रमाण” खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ।

हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार “अतिगोप्य फाइलहरू” ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।

न्याय मन्त्रालयले आफूले “उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षी”लाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। ट्रम्पले अनुसन्धानको नेतृत्व “राजनीतिक अनुचर र ठगहरू”ले गरेको आरोप लगाएका छन्।

अमेरिकी न्याय मन्त्रालयले अगस्ट ८ मा ट्रम्पको मारा लागो निवासमा एफबीआईले गरेको खोजतलासको औचित्य पुष्टि गर्न प्रयोग गरिएको मुचुल्काको एउटा संस्करण जारी गरेको छ। यद्यपि त्यसमा व्यापक सम्पादन गरिएको छ।

फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो। न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए।

उसका अनुसार ती ११ थान ‘गोप्य कागजपत्रमा’ नयाँ विस्तृत विवरण छैन। मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग “प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री ” पत्ता लाग्ने विश्वास गर्ने सकिने “सम्भावित कारण” थियो भनेर लेखेका छन्।

“उक्त परिसरमा अवरोधको प्रमाण फेला पर्नेछ भन्ने विश्वास गर्ने सम्भावित कारण पनि छ,” त्यसमा उल्लेख गरिएको छ। ट्रम्पको मारा लागो निवासबाट गत ज्यानुअरीमा फेला पारेका १५ बाकस कागजपत्र केलाउँदा न्याश्नल आर्काइभ्सले तीमध्ये केही ‘अतिगोप्य वर्गीकृत’ फाइल पनि रहेको पत्ता लगाएपछि ट्रम्पमाथि आपराधिक मामिलामा अभूतपूर्व अनुसन्धान सुरु भएको देखिन्छ।

न्याश्नल आर्काइभ्सले ह्वाइट हाउससँग सम्बन्धित अभिलेख राख्ने गर्छ। एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा “अतिगोप्य” थिए।

त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए। केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो।

यो सबै विवरण मुचुल्कामा दिइएको छ। मुचुल्कामा भनिएको छ, “सबैभन्दा चिन्ताको विषय के थियो भने अतिगोप्य भनिएका रेकर्डहरू खोलिएका थिए, तिनलाई अन्य रेकर्डसँग मिसाइएको थियो वा अनुचित रूपमा पहिचान गरिएको थियो।”

त्यसले अनुसन्धानकर्ताहरूलाई ट्रम्पले गोप्य जानकारी नियन्त्रण गर्ने सहित तीनवटा सङ्घीय कानुनको उल्लङ्घन गरेको हुनसक्ने विश्वास दिलायो। मुचुल्काका ३८ पानामध्ये २१ मा अधिकांश वा पूर्णतः कालो बनाइएको छ। धेरै पानामा एक शब्द पनि देखिँदैन।

ट्रम्पको आक्रोश ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा आक्रोशित भएर प्रतिक्रिया दिएका छन्। ट्रम्पले खानतलासीको आदेशमा हस्ताक्षर गर्ने न्यायाधीश ब्रुस राइन्हार्टले आफ्नो घरमा छिर्ने अनुमति नै दिनु हुँदैनथ्यो भनेका छन्।

ट्रम्पले न्यायाधीशले आफूसँग “शत्रुवत्” व्यवहार गरेको आरोप पनि लगाए। उनले यसअघि नै सबै कागजपत्र सार्वजनिक गर्न आफूले निर्देशन दिएको पनि बताए। न्याय मन्त्रालयको अब बन्द ढोकाभित्र अनुसन्धान जारी राख्ने अपेक्षा गरिएको छ।

उसले कागजपत्रको अध्ययन जारी राख्नेछ र सम्भवतः साक्षीहरूलाई पनि बोलाउनेछ। कुनै पनि कुरामा आपराधिक अभियोग लाग्ने हो कि होइन भन्ने निर्णय नगरेसम्म अनुसन्धानको बारेमा अभियोजनकर्ताहरूले विवरण सार्वजनिक गर्नेछैनन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal