आज :

पूर्वप्रधानमन्त्री खानले कसलाई धम्क्याए ? यस्तो रहस्य खुलेपछि प्रहरीले लियो एक्शन

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरू गरेको छ। प्रहरी र न्यायपालिकाविरूद्ध धम्की दिएको आरोपमा उनीमाथि छानबिन थालेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए। अप्रिलमा सत्ताच्यूत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन्।

खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राहेका आफ्ना पार्टीका सहकर्मीलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै निन्दा गरेका थिए।

‘पाकिस्तानको प्रहरीले कसैको निर्देशनमा मेरा पार्टी नेतालाई पक्राउ गरिरहेको छ। मैले पुलिसलाई शाहबाज गिललाई किन गिरफ्तार गरिएको भनि प्रश्न गर्दा, आफूहरूले आदेश मात्र पालना गरिरहेका बताएका छन्’, इमरानले शनिबार इस्लामावादको एफ ९ पार्कमा आयोजित र्‍यालीमा भनेका थिए।

यति मात्र होइन, खानले एक महिला न्यायाधीशलाई आफ्नो पार्टीविरूद्ध पक्षपात गरेको आरोपमा धम्कीसमेत दिएका थिए। ‘न्यायपालिकाले पनि परिणाम भोग्न तयार हुनुपर्छ। गिललाई हिरासतमा लैजान आदेश दिने न्यायाधीशलाई पनि कारबाही गरिनेछ। यसका लागि तयार हुनुहोस्’, उनले भनेका थिए।

उक्त अभिव्यक्तिको विषयमा खान विरूद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत एफआईआर दर्ता गरिएको थियो। प्रहरीले इमरानको घर जाने बाटोको सुरक्षा व्यवस्था कडा पारेको छ। यसैबीच उनको पार्टी पीटीआईका उपाध्यक्ष शाह महमूद कुरैशीले सरकारले इमरान खानलाई पक्राउ गर्ने योजना बनाएको बताएका छन्।

उता पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्था पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा रोक लगाएको छ। पेम्राका अनुसार खानले देशको सेना, प्रहरी र न्यायपालिकामाथि लगातार आधारहीन आरोप लगाउँदै घृणा फैलाइरहेका छन। उनले संविधानको धारा १९ को उल्लङ्घन गरेका छन्।

खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाएको हो।

सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतबार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्‍यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरेका थिए।

‘इमरान खानले के अपराध गरेका छ? म यी चोरहरूको संगठनलाई कहिल्यै स्वीकार गर्दिनँ,’ उनले आफ्ना समर्थकहरूमाझ भनेका थिए। सरकारले आफ्नो भाषण प्रत्यक्ष सुन्नबाट रोक्न युट्युबको पहुँचमा समेत रोक लगाएको खानले आरोप लगाएका छन्।

यस वर्षको सुरुमा अविश्वासको मतमार्फत सत्ताबाट हटाइए पनि इमरान खानले धेरै पाकिस्तानी मतदाताहरूको समर्थन पाइरहेका छन्। खान जुनसुकै बेला पक्राउ पर्न सक्ने भन्दै उनका समर्थकहरू खानको घर बाहिर भेला भएका छन्।

उनको निवासबाहिर भेला भएका समर्थकले यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने चेतावनीसमेत दिएका छन्। शाहबाज गिललाई प्रहरीले ९ अगस्टमा पक्राउ गरेको थियो। गिरफ्तारको समयमा गिल इमरानको घर जाँदै थिए।

विगतमा पाकिस्तानी सेना र न्यायपालिकाको बारेमा अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले बीच बाटोबाटै पक्राउ गरेको थियो। उनको अभिव्यक्तिले सेना र सरकारलाई आक्रोशित बनाएको थियो।

पाकिस्तानी समाचार वेबसाइट द न्युजका अनुसार संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरान खानलाई भारतलगायत धेरै देशबाट गैरकानूनी आर्थिक सहयोग लिएको मामिलामा पक्राउ गर्न सक्नेछ।

एफआईएले अदालतको अनुमति लिएर इमरानको पार्टी पीटीआईको बैंक खाताको पनि छानबिन गर्नसक्छ। यदि इमरानले छानबिन समितिलाई सहयोग गरेनन् वा गैरकानूनी कोष सम्बन्धी नोटिसको जवाफ दिएनन् भने उनलाई पक्राउ गरिने समाचारमा जनाइएको छ।

समाचार अनुसार इमरान खानलाई ३ वटा सूचना दिएपछि पक्राउ गर्ने अन्तिम निर्णय हुनसक्छ। उनलाई दोस्रो सूचना शुक्रबार दिइएको हो। जियो न्यूजका अनुसार इमरानको गिरफ्तारीका लागि पाकिस्तानको एलिट सेक्युरिटी युनिट रेंजर्सलाई अलर्टमा राखिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal