आज :

वन कार्यालयको हिरासतमै कसरी भयो लामिछानेको मृत्यु ? खुल्यो यस्तो रहस्य

  • अनलाइन डबली

काठमाडौँ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेका परिवार र कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहमति भएको छ।

सहमतिपछि परिवारले शनिबार मृतकको शव बुझ्दैछन्। शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ। शुक्रबार राति घटनाको मुचुल्का उठाएर पोष्टमर्टम गर्न शव अस्पतालमा पठाएको थियो।

शनिबार पोष्टमर्टमपछि आफन्तले शव बुझ्ने सहमति भएको प्रहरीले जनाएको छ। मन्त्रालय र पीडित पक्षबीच शुक्रबार नै सहमति भएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख मुनबहादुर रावतले जानकारी दिए।

प्रमुख रावतका अनुसार मृतक लामिछानेका आश्रित एकाघरका दुईजनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वा मातहतका निकायमा रोजगारी उपलब्ध गराउने सहमति भएको छ। एक महिना भित्र उनीहरूलाई रोजगारीमा लगाउने सहमति भएको हो।

परिवारले २५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। उनीहरूले माग गरेको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लग्ने सहमति भएको छ।

यस्तै लामिछानेका एक जना छोरालाई उच्च शिक्षा छात्रवृत्ति दिने सहमति पनि भएको प्रमुख रावतले जानकारी दिए। यो माग पनि निर्णय गरेर मन्त्रालयले मन्त्रिपरिषदमा पठाउने भएको छ।

डिभिजन वन कार्यालय वीरेन्द्रनगर हिरासतमा आरोपितको मृत्यु भएको विषयमा छानबिन गर्न शुक्रबार समिति पनि गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाइएको हो।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य छन्। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

बिहीबार बेलुका वनसम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको कार्यालयको हिरासतमा मृत्यु भएको पाइएपछि परिवार तथा आफन्तले कार्यालयमै पुगेर आन्दोलन गरेका थिए। कार्यालयको हिरासतमा लामिछाने झुण्डिएको अवस्थामा फेला परेका थिए।

आफन्तले लामिछानेको मृत्यु कुटपिटबाट भएको र पछि झुण्ड्याएको आरोप लगाएका छन्। आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा वन कार्यालयका चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री, वन रक्षकहरू पियुषराज तिवारी र सुरेन्द्र रानाविरूद्ध किटानी जाहेरी परेको हो। उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालयका अनुसार मदन भण्डारी राजमार्गमा पर्ने जंगलमा नम्बरिङ गरिएको रुख काटेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। सुरूमा लामिछानेकी श्रीमतीलाई पक्राउ गरी वन कार्यालय लगिएको थियो भने पछि धनीरामलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal