
काठमाडौँ । चीनले ताइवान र जापानी भूमिमा एकै पटक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरे लगत्तै चीनले गरेको सैन्य अभ्यासको क्रममा चिनियाँ सेनाले प्रहार गरेका क्षेप्यास्त्रहरु ताइवान र जापानको जलक्षेत्रमा खसेका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यसको पुष्टि गर्दै जापानले चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा खसेको जापानले जनाएको छ । जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । त्यसैगरी ताइवानले पनि चीनले आफ्नो भूमीमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । उसले अहिलेसम्म ११ वटा चिनियाँ क्षेप्यास्त्रहरु आफ्नो भूमी वरपर खसेको बताएको छ । चीनले यसरी ताइवान र जापानको क्षेत्रमा यति धेरै क्षेप्यास्त्र प्रहार गरेको पहिलो पटक हो ।
चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । समाचार संस्था रोएटर्स रिपोर्टका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन् । ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ ।
हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएको बीबीसीले जनाएको छ । ताइवानको जनजीवन सामान्य नै रहेको बताइएको छ । मानिसहरू शान्त तर चिन्तित अवस्थामा रहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ । त्यस्तै, चीनले नाकाबन्दी लगाएको ताइवानको बताएको छ ।
चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीलाई ताइवानले स्वागत गरेपछि चीन आक्रोसित भएका हो । सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको छ भने ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ ।
यी दुई देशबीचको तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने ठानिएको छ । अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएर विवाद झन् चर्काउन खोजेको छ ।