
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् ।
राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि अर्थमन्त्रालय पुगेका उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरे ।
शर्मा पुन: अर्थमन्त्री बनेलगत्तै अर्थ मन्त्रालयका सचिव मधु मरासिनी भने टाप कसेका छन् । सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ ।
सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् । स्रोतका अनुसार शर्मा पुन: अर्थमन्त्रीमा निक्युक्त भएको खबर पाएलगत्तै सचिव मरासिनी पोखरा पुगेका छन् ।
यसअघि उनी अर्थमन्त्रीले राजिनामा दिएको भोलिपल्टै मन्त्रालयमा उपस्थित भएका थिए । त्यतिबेला उनले अर्थसचिव मरासिनीले बजेट निर्माणका सन्दर्भमा बाहिर नकारात्मक टिप्पणी धेरै भएपछि आफू बिदामा बसेको बयान दिएका थिए ।
संसदीय छानबिन समिति गठन भएर अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका थिए । देउवाले मन्त्रालय सम्हालेलगत्तै सहयोग गर्न भनेपछि आफू भोलिपल्टै काममा फर्किएको उनको भनाइ छ ।
उनले छानबिन समितिमा दिएको बयानमा भनिएको छ, ‘जुन किसिमको विवाद मिडियामा आयो । त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा मलाई पनि धेरै नकारात्मक टीकाटिप्पणी आए । मानसिक रुपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो ।’
उनले अगाडि भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नुभएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो । देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन ।’