
म्याट मर्फी र आलिस डेभिज, बीबीसी न्यूज । युक्रेनले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसलाई रुसी कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परी ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको मृत्यु भएको घटनाको अनुसन्धान गर्न अनुमति दिन आग्रह गरेको छ।
रेडक्रसले घाइतेहरूलाई बाहिर निकाल्न र उपचार गर्न मद्दत गर्न उक्त जेलमा पहुँच खोजिरहेको बताएको छ। एउटा शिविरस्थित जेलमा भएको आक्रमणबारे युक्रेन र रुसले एक अर्कामाथि आरोप लगाएका छन्।
उक्त घटनापछिको पुष्टि हुन नसकेको तर रुसले जारी गरेको ठानिएको भिडिओ फुटेजमा भत्किएका बङ्क बेड र नराम्ररी जलेका मानव शरीरहरू देखिन्छन्।
रुस समर्थित पृथकतावादी डोनेट्स्क पिपल्स रिपब्लिकको नियन्त्रणमा रहेको ओलेनिभ्कास्थित जेल शिविरमा ठ्याक्कै के भएको थियो भन्ने अस्पष्ट छ।
युक्रेनले यातना र हत्याका प्रमाण नष्ट गर्ने प्रयासस्वरुप रुसले उक्त स्थानलाई आक्रमणको लक्ष्य बनाएको बताएको छ। राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले घटनालाई “जानाजान रुसले गरेको युद्ध अपराध” भनेका छन्।
अर्कातर्फ रुसले उक्त शिविरमा युक्रेनी क्षेप्यास्त्र प्रहार भएको बताएको छ। उक्त जेलमा आजोभ बटालियनका सदस्यहरू हिरासतमा रहेका थिए। गत मे महिनामा दक्षिणी सहर मारिऊपोलको रक्षा गर्ने क्रममा उनीहरूलाई रुसले नियन्त्रणमा लिएको थियो।
ती युद्धबन्दीहरूलाई रुसले “नव-नाजी” र “युद्ध अपराधी”का रूपमा चित्रण गर्न खोजेको थियो। रुस समर्थित डोनेट्स्क जनवादी गणतन्त्रका प्रवक्ता डानिल बेज्सोनोभले “कैदीहरूलाई राखिएको ब्यारेकमा प्रत्यक्ष रूपमा प्रहार” भएको बताएका छन्।
रुसको रक्षा मन्त्रालयले अमेरिकाले बनाएको क्षेप्यास्त्र प्रहार गर्ने उपकरण हिमर्सबाट उक्त आक्रमण भएको जनाएको छ। उसले युक्रेनले त्यहाँ “जानीजानी” उक्साहटका लागि आक्रमण गरेको आरोप लगाएको छ।
उक्त मन्त्रालयले हिमर्स प्रणालीबाट प्रहार गरेका क्षेप्यास्त्रका टुक्राहरू बटुलेको जनाएको छ। तर युक्रेनले कुनै क्षेप्यास्त्र प्रहार नगरेको र त्यस्तो हमला नभएको दाबी गरेको छ।
रेडक्रसको भनाइ
युक्रेनी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले उक्त दृश्य आगजनी जस्तो देखिएको बताए। उनकाे दाबीमा यदि त्यहाँ क्षेप्यास्त्र प्रहार भएको भए शवहरू छरपस्ट हुने थिए।
युक्रेनको जेनेरल स्टाफ अफ द आर्म्ड फोर्सले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसलाई उक्त मृत्युको अनुसन्धान गर्न आह्वान गरेको छ। उसले रुसले युद्धबन्दीलाई दिएको यातना लुकाउनका लागि उक्त शिविरलाई निसानामा पारेको दाबी गरेको छ।
सामाजिक सञ्जालमा लेख्दै उसले रेडक्रस र संयुक्त राष्ट्रसङ्घले युद्धबन्दीलाई त्यहाँ सुरक्षित राखिने ग्यारेन्टी गर्नुपर्ने माग गरेको छ। रेडक्रसले उक्त क्षेत्रमा आफ्नो पहुँच खोजेको र घाइतेलाई बाहिर निकाल्ने प्रस्ताव गरेको जनाएको छ।
एउटा वक्तव्यमा उसले भनेको छ, “अहिले हाम्रो प्राथमिकता घाइतेहरूले जीवन बचाउन उनीहरूले उपचार पाउनु र ज्यान गुमाउनेहरूको शवलाई सम्मानजनक रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्नु हो।”
युक्रेनका नयाँ मुख्य अभियोजनकर्ता जेनरल एन्ड्री कोस्टिनले यसअघि नै उक्त घटनाबारे “युद्ध अपराध”सम्बन्धी अनुसन्धान सुरु गरेको बताइसकेका छन्।