आज :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्नै लाग्दा सपनाको हातमा हत्कडी लागेपछि …

  • अनलाइन डबली

काठमाडौं । कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।

बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो । त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।

तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चार/पाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।

‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अपराधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा ह त्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’

पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, ‘उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।’

सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो । त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।

बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी पर्‍यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको सुवेदीले बताए ।

सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।

उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal