आज :

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गरिरहेको समितिले आजदेखि प्रतिवेदन लेख्न थाल्ने

  • अनलाइन डबली

श्रावण ११, काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आज बुधबारबाट प्रतिवेदन लेख्ने भएको छ ।

छानबिन प्रक्रिया लगभग पूरा भएको निष्कर्ष निकाल्दै बैठकले बुधबारबाट प्रतिवेदन लेखनमा केन्द्रित हुने निर्णय गरेको हो । समितिको मंगलबार दुईपटक बसेको बैठकमा बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा देखिएका गतिविधिको सम्बन्धमा छलफल भएको थियो ।

बुधबार बिहान बसेको बैठकमा प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त सीसीटीभी फुटेजको रिकभर रिपोर्ट खोलिएको थियो । रिपोर्ट स्पष्ट नबुझिएपछि अपराह्नको बैठकमा विज्ञहरुसँग छलफल गरिएको थियो । तर, विज्ञसँग छलफल गर्दा पनि फुटेजका धेरै क्लिपहरु स्पष्टसँग बुझ्न नसकिएको समितिका सदस्यहरुले जानकारी दिएका छन् ।

तर, एउटा शंकास्पद गाडी जेठ १४ गते राति अर्थ मन्त्रालय प्रवेश गरेको भने सीसीटीभी फुटेजमा देखिएको बुझिएको छ । छानबिन समितिले सुरुदेखि नै बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते) राति अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरे÷नगरेको विषयमा छानबिन केन्द्रित गरेको थियो ।

छानबिनका क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका दुवै सचिवसहित विभिन्न विभागका प्रमुख र कर्मचारीसँग बयान समेत लिइएको थियो ।

एसइई परीक्षाको नतिजा आज प्रकाशित हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज बुधबार प्रकाशन गर्ने भएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक बिषय वस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पुरा गरेको हो । बोर्डका अनुसार बैशाख ९ गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षामा देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी सहभागि भएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले विद्यालय तहको कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरु अब पास हनु प्रत्येक बिषयमा ३५ नम्बर अनिवार्य ल्याउनु पर्नेछ ।

नयाँ ब्यबस्था अनुसार विद्यार्थीहरुले अनिवार्य ३५ अंक र ब्यबहारिकमा ४० अंक ल्याए मात्र मुल प्रमाणपत्र पाउने ब्यबस्था गरिएको छ । यस्तै, दुई विषय भन्दा बढी विषयमा ३५ अंक भन्दा कम अंक प्राप्त गरे वा ग्रेड बृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले पुनः सबै बिषयको परीक्षा दिनुपर्ने छ । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन् ।

१ करोड ३६ लाख लागतमा रुपातालमाथि झोलुङ्गे पुल निर्माण
साउन ११, २०७९ बुधबार

पर्यटकलाई आकर्षित गर्न रुपाताल माथि झोलुङ्गे पुल बनाइएको छ । पोखराको लेखनाथमा रहेको रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो ।

पुल निमार्णपछि रुपा गाउँपालिका ६ का स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । भङ्गारा पचभैया ट्रेल ब्रिज नामकरण गरिएको यो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा बनेको हो । पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इञ्जिनियर हरि थापाले जानकारी दिनुभयो ।

पुल बनेसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी
११ साउन, बैतडी ।

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।

बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।

मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए । त्यसलगत्तै उनीहरूलाई स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।

नुवाकोटमा खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित भएका थिए।

युवती प्रयोग गरी युवकको अपहरण, ६ जना पक्राउ
साउन १०, २०७९ मंगलबार

दैलखका एक युवकलाई भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । दैलेखको चामुण्डाबिन्द्रसैनी नगरपालिका ३ का २७ वर्षीय युवकलाई भेट्न बोलाएर अपहरण गरी फिरौती माग्ने ६ जनालाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई तुलसीपुरको एक होटलबाट पक्राउ गरेको हो । दाङको बबई गाउँपालिका ४ की ३५ वर्षीय लीला विक, त्यही ठाउँकै ३५ वर्षिय नेबबहादुर घर्ती, तुलसीपुर ४ का २५ वर्षीय सुक्लालाल विक, कपिलवस्तुको शिवराज नगरपालिका ७ का २० वर्षीय मनोज थारु पक्राउ परेका हुन् । यस्तै प्रहरीले प्युठानको गौमुखी गाउँपालिका ७ घर भइ दाङको तुलसीपुर ६ बस्ने २४ वर्षीय जनक कुँवरलाई पक्राउ गरेको छ । कुँवर बाग्मती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडीका चालकसमेत रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्सपेक्टर बखतबहादुर शाहीले बताउनुभयो । यस्तै प्रहरीले फोन गरी भेट्न बोलाउने तुलसीपुर ७ का २६ वर्षीया निर्मला विकलाई पनि पक्राउ गरेको छ ।

निर्मलाले अपहरणमा पर्ने युवकलाई हिजो सोमवार राति नौ बजेतिर बुटवलमा भेट्न बोलाएकी थिइन् । दैलखबाट बुटवलमा भेट्न आएका युवकलाई युवतीसँग भेट भएपछि ६ जनाको समूहले अपहरण गरी आज तुलसीपुर ल्याएका थियो ।

त्यसपछि युवकलाई तुलसीपुरको एक होटेलमा राखेर सात लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नदिए जे पनि हुन सक्ने भन्ने परिवारमा फोन गएपछि कुमारकी श्रीमतीले प्रहरीमा जाहेरी दिनुभएको थियो । दिउँसो ४ बजेपछि प्रहरीमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको टोलीले होटलबाट केशवलाई उद्धार गरेको हो ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा
साउन ११, २०७९ बुधबार

अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाका अनुसार अहिले काठमाण्डौ उपत्यकासहित वाग्मतीका केही ठाउँ, प्रदेश–१,गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक÷दुई ठाउँमा ठूलो पानी परिरहेको छ । आज दिउँसो पनि देशका पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षा भइरहे
पनि नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडीको आवागमनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले यो सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal