काठमाडौँ । रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ । रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो ।
तर, उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । उसले युक्रेनसँग भएको खाद्य संझौताको पनि बेवास्ता गरिरहेको छ ।
यता युक्रेनी सेनाले रुसी सेनाको लागि आपूर्ती अवरुद्ध बनाइदिएको छ । खेरसन कब्जा गरेकी रुसी सेनाको लागि आवश्यक पर्ने हतियार र गाडीको सप्लाई रोकेको हो ।
लामो सयमदेखि खेरसन गुमाएको युक्रेनी सेनाले पुल ध्वस्त बनाएसँगै रुसी सेनाको लागि हुने आपूर्ती अवरुद्ध भएको हो । अमेरिकाले दिएको लामो दुरीमा क्षेप्यास्त्र प्रहार गरेर युक्रेनी सेनाले खेरसनको एन्टोनोभ्सकी पुल भत्काई दिएको छ ।
पुल भत्काएसँगै यो क्षेत्रमा हुने आपूर्ती बन्द भएको युक्रेनको रक्षा मन्त्रालयले बताएको छ । युक्रेनका काउन्टर कार्यालयलाई रुसी सेनाको आपूर्ती अबरुद्ध भएको बताउँदै यसबाट युक्रेनी सेनालाई लडाइँमा सहयोग पुग्ने बताएको छ ।
यसैबीच युक्रेनी रक्षामन्त्रालयले खेरसनमा रुसी सेनाले लुक्ने स्थान देखाउन नागरिकलाई अपील गरेको छ । रुसी सेनालाई सहयोग नगर्न समेत नागरिकलाई भनेको छ ।
यसअघि खेरसनको एयरपोर्टमा लामो दूरीका मिसाइल प्रहार गरेर रुसी सेनाको ठूलो क्षति भएको दाबी युक्रेनले गरेको थियो । त्यो बेला रुसी सेनाका हतियार गोदाम ध्वस्त भएको बताउँदै युक्रेनी रक्षा मन्त्रालयले खरसन फिर्ता लिने दाबी गरेको थियो ।
युक्रेनमा रुसविरुद्ध लडिरहेका दुई अमेरिकी नागरिकलाई फाँसी दिइएको छ । युक्रेनबाट अलग राज्यको घोषणापछि संचालन भइरहेको स्थानीय गणराज्य सरकारले अमेरिकी सेनालाई फाँसीको सजाय दिएको हो । उनीहरु अमेरिकी सेना भएको पुष्टि भएपछि स्थानीय अदालतले फाँसीको फैसला गरेको थियो ।
यसअघि पनि दुई बेलायती नागरिकलाई पनि फाँसीको सजाय सुनाईएको थियो । केही सयम पहिलेदेखि पनि रुसी सेनाले युद्धमैदानबाटै कब्जामा लिएर युद्धबन्दी बनाइएका अमेरिकी नागरिकले आफूलाई सरकारले नै लड्न पठाएको बताएका थिए । उनीहरुको बयनपछि दुबै जनालाई फाँसीको आदेश अदालतले दिएको थियो ।
अमेरिकाले पनि आफ्ना दुई नागरिक पूर्वी डोनबास क्षेत्रमा मृत्यु भएको बताएको छ । उसले डोनबास क्षेत्रमा भएको झडपमा मृत्यु भएको भनेपनि अहिले सो क्षेत्रमा कुनै पनि झडप नभएको बताइएको छ । डोनबासको सम्पूर्ण रुसी सेनाको कब्जामा भएकोले सो क्षेत्रमा झडप नभएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।
यसैबीच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले रुसलाई जित्न नसक्ने बताएका छन् । कन्जरभेटिभहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मस्को र वाशिङटनबीच शान्ति वार्ता गरेर मात्र युद्ध अन्त्य हुने उनले बताएको बीबीसीले उल्लेख गरेका छ ।
युक्रेन घटनालाई लिएर युरोपेली नेताभन्दा फरक धारणा राख्दै आएका ओर्बानले भने, “युद्ध जित्ने रणनीतिभन्दा फरक रूपमा शान्ति वार्तामा केन्द्रित भएर समाधान खोज्नुपर्छ ।”