
काठमाडौँ । नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटीभी फुटेजको विवरण संसदीय छानविन विशेष समितिलाई बुझाएको छ।
प्रयोगशालाले बुझाएको विवरणबारे समितिको मंगलबारको बैठकमा छलफल हुने सदस्य सीताराम महतोले जानकारी दिए। ‘फरेन्सिक ल्याबले आज विवरण दिएको छ अब भोलि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुनेछ,’ उनले भने।
बजेट निर्माण प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा निर्क्यौलका लागि मन्त्रालयको सिसिटिभी फुटेज छानबिनका लागि प्रहरीको प्रयोगशालामा पठाइएको थियो।
सिसिटिभीमा १३ दिनसम्मको मात्रै भिडिओ रहने क्षमता रहेको दाबी मन्त्रालयले गरेको थियो। यस विषयमा समितिले पूर्व अर्थमन्त्री शर्माको बयान लिँदा आफू जानकार नरहेको भन्दै विज्ञसँग परामर्श गर्न भनेका थिए।
मन्त्रालयको सिसिटिभी फुटेजबाट अनधिकृत व्यक्तिको प्रवेश निर्क्यौलको सम्भावना नरहेको देखेपछि छानबिन समितिले सिंहदरबार प्रवेशद्वारकै फुटेज मगाएको छ। आइतबार बसेको समिति बैठकले पूर्वी र दक्षिणी प्रवेशद्वारका सिसिटिभी फुटेज मगाएको हो।
शर्मामाथि आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिमार्फत् राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ। त्यस प्रकरणमा छानविनका लागि संसदीय विशेष समिति गठन भएको हो।
समितिलाई पहिलो पटक अनुसन्धानका निम्ति १० दिनको समय थियो। त्यसअवधिमा अनुसन्धान प्रक्रिया नटुंगिएपछि ५ साउनमा समितिको म्याद थप गरिएको थियो। थपिएको साता दिनभित्र अनुसन्धानलाई पूर्णता दिने तयारी रहेको छ।