काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् ।
राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।
नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए ।
डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’, आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।हाल, उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
यसैबीच हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो ।
पाँच जनाको घटनास्थलमा अर्कोे एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । हरिद्वारबाट ग्वालियर गइरहेका उनीहरूलाई ट्रकले ठक्कर दिएको हो ।
ट्रकका चालक फरार रहेका र निजको खोजी भइरहेको छ । ‘कन्वर यात्रा’ भगवान् शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो । कन्वर यात्रीहरू हरिद्वार, गौमुख र गङ्गोत्री र बिहारको सुल्तानगञ्जबाट गङ्गाजल ल्याएर भगवान् शिवलाई चढाउँछन् ।
कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि शुरु भएको छ । तीर्थयात्रामा कुनै अप्रिय घटना हुन नदिन विभिन्न क्षेत्रका प्रशासनले आवश्यक उपाय अपनाएका छन् ।