
काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो देशको गुप्तचर एजेन्सी (एसबीयू) का प्रमुख र मुख्य अभियोजनकर्तालाई कारवाही गरेका छन् । उनीहरुले रुससँग मिलेर देशद्रोहको गरेको आरोप लगाउँदै जेलेन्स्कीले पदबाट हटाएका छन् । युक्रेनमा दुवै संगठन र पदहरू शक्तिशाली संरचनामध्ये पर्छन् ।
बीबीसीका अनुसार युक्रेनले अन्य ६० जना पूर्व कर्मचारीहरुले युक्रेनको विरुद्धमा काम गरिरहेको जेलेन्स्कीको कार्यालयले जनाएको छ । रुसलाई सहयोग गरेको आरोपमा कुल ६५१ वटा मुद्दाहरूमाथि छानविन सुरु गरिएको बताइएको छ ।
कानुन कार्यान्वयनमा रुसलाई सहयोग गरेको युक्रेनको आरोप छ । गुप्चर प्रमुख र प्रमुख अभियोजनकर्ता इभान बाकानोभ र एरिना भेनेडिक्टोभाले भने आफूमाथि लागेको कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।
आइतवार ढिलो गरी जारी गरिएको एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भने, “राज्यको राष्ट्रिय सुरक्षाको जगविरुद्ध अपराधको यस्तो श्रृङ्खलाले दुई संस्थाको सम्बन्धित प्रमुखमाथि धेरै गम्भीर प्रश्न खडा गर्छ ।” उनले प्रत्येक प्रश्नको उचित जवाफ प्राप्त हुने समेत बताए । इभान बाकानोभ राष्ट्रपति जेलेन्स्कीका बाल्यकालका साथी पनि हुन् ।
युक्रेनी टेलिभिजनमा देखापरेका जेलेन्स्कीका एकजना शीर्ष सल्लाहकार एन्ड्री स्मिर्नोभले ती अधिकारीहरूलाई नहटाइएको तर प्रारम्भिक विवरणका आधारमा अनुसन्धानका लागि जिम्मेवारीबाट निलम्बन मात्र गरिएको बताए ।
“आक्रमणकारी देशसँगको सहकार्यको आशङ्कामा एसबीयूका कर्मचारीमाथि भइरहेको फौजदारी अनुसन्धानमा यी दुई अधिकारीहरूको सम्भावित प्रभावलाई रोक्नका लागि राष्ट्रपतिको निर्णय आएको हो” जेलेन्स्कीले भने ।
सन् २०१४ मा रुसले कब्जा गरेको क्षेत्रका एसबीयूका क्षेत्रीय प्रमुख ओलेह कुलिचिनलाई देशद्रोहको आशङ्कामा पक्राउ गरिएपछि उक्त सङ्गठनका प्रमुखलाई पनि निलम्बन गरिएको हो । जेलेन्स्कीले उनीहरु सँगसँगै रूसी सङ्घको हितमा काम गर्ने सबैलाई पनि जवाफदेही बनाइने बताए ।
यसैबीच खेरसनमा रहेका अन्य वरिष्ठ गुप्तचर अधिकारीहरूलाई पनि त्यस्तै आरोप लगाइएको छ । जेलेन्स्कीले अन्य एसबीयू अधिकारीविरुद्ध पनि थप कारबाही हुने बताएका छन् । लामो समयदेखि युक्रेनको सुरक्षा सेवामा रुसी घुसपैठको आरोप समेत लाग्ने गरेको छ । आफ्नो भाषणमा जेलेन्स्कीले बारम्बार सुरक्षासम्बन्धी विषयहरू बाहिरिएको भन्दै त्यसलाई रोक्ने कुरा गर्दै आएका छन् ।
रुसले सैन्य कारवाही र त्यसको विस्तारलाई रोक्न नसेको भन्दै जेलेन्स्कीले बाकानोभलाई कारवाही गरेको बताइएको छ । राष्ट्रपतिका लागि जेलेन्स्कीको अभियानको प्रबन्ध गरेपछि सन् २०१९ मा उनलाई गुप्तचर एजेन्सीको नेतृत्व दिइएको थियो । विपक्षीहरूको विरोधका बीच बाकानोभलाई नियुक्त गरेका थिए ।
जेलेन्स्कीले एसबीयूका उप–प्रमुखलाई उक्त संगठनको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । त्यस्तै मुख्य अभियोजनकर्ताको कार्यवाहक जिम्मेवारी पनि उक्त संगठनका उप–प्रमुखलाई दिइएको छ ।
नेटो र अमेरिकाले भनेजस्तो सहयोग नगरेको कारण क्षति ब्यहोर्नु परेको बताउँदै आएका जेलेन्स्कीले आफ्नो कमजाेरी ढाकछोप गर्न उच्च अधिकारीलाई कारवाही गरेको बताइएको छ ।
सुरुमा जेलेन्स्कीले नेटो र अमेरिकाले सेना नै पठाउने र आफूले रुससँग जित्ने ती अधिकारीहरुसँग बताएको र अहिले त्यस्तो सहयोग नआएका कारण आलाेचना हुन थालेपछि कारवाही उत्रिएको विपक्षीहरुले आरोप लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।