
काठमाडौं । नेकपा (माओवादी केन्द्री) को पोलिटब्यूरो सदस्य सत्य पहाडीले देश बनाउन लागेका नेता तथा नागरिकहरुलाई कर्मप्रति प्रतिबद्ध गराउन अर्गानिक जोनमा ल्याउनु पर्ने धारणा राखेकी छन् । हालै ललितपुरको सातदोबाटोस्थित अर्गानिक जोन रेष्टुरेन्टमा भएको देउडा अर्गानिक साँझमा पहाडीले मानव जीवन, प्रकृति र साँस्कृतिको अन्योन्याश्रीत सम्बन्धलाई यस्ता कार्यक्रमले जीवन्तता दिने विश्वास समेत व्यक्त गरिन् ।
अर्गानिक खानपान र संस्कृति संरक्षण अभियान्ता दिपक बुढाद्वारा सञ्चालित ‘देउडा अर्गानिक देउडा साँझ’ २२ औं श्रृङ्खलामा बोल्दै पूर्वमन्त्री समेत रहेकी पहाडीले अभियान्ता बुढा र आफूले फरकफरक बाटोबाट भएपनि प्रकृति र संस्कृतिक सम्पदाको खानी कर्णालीलाई चिनाउने अभियानमा निरन्तरता दिएको बताइन् ।
अफू मन्त्री भएको समयमा सिँजालाई संरक्षण गर्न बृहत्तर मेमोरियल बनाउने कार्ययोजना अगाडि बढाएको पनि उनले स्मरण गरिन् । आफूहरुले १० वर्षे जनयुद्धबाट ल्याएको परिवर्तनप्रति व्यापक असन्तुष्ट भएका तत्वहरुले अहिले पनि उल्ट्याउन तत्पर रहेकोप्रति रोष प्रकट गर्दै भनिन्,“हाम्रो जनपक्षिय कार्यहरु संस्थागत भएमा माओवादी हावी हुन्छ भनेर यो वा त्यो बहानामा माओवादीमाथि प्रहार जारी छ, त्यसमा सबै माओवादी एक हुनुको विकल्प छैन ।”
देशलाई उज्यालो दिने माओवादीलाई अँध्यारो बनाउन पछिल्लो समयमा अर्थमन्त्री जनार्दन शर्माले जनपक्षीय बजेट ल्याउँदा नभएका आरोप लगाएर राजिनामा दिन बाध्य बनाएको बताउँदै पहाडीले भनिन्, “जनयुद्ध र जनआन्दोलनबाट धेरै कार्य गरियो, के हाम्रो बलिदानको उपहार यही हो ?” देशलाई आत्मनिर्भर गर्न कृषिको अपार सम्भावनालाई अगाडि बढाउन कृषकमैत्री बजेटमा जोड दिएकोमा कमिसनखोरहरुलाई तनाब भएको उनले दाबी गरिन् ।
शैक्षिक अभियान्ता सुदाम गौतमले कर्णाली अर्गानिक उत्पादनको अपार सम्भावना भएको र त्यसलाई बजारी करणको सम्भावनालई मुर्तता दिन अर्गानिक जोनले सुरुवाती गरेकोमा धन्यवाद दिए । गौतमले आफू पनि कर्णालीको युवा भएको र त्यसलाई अगाडि बढाउन राज्यले उचित वातावरण तयार गरे कर्णालीमा कृषि उत्पादन क्षेत्रमा व्यापक लगानि गर्न सक्ने बताए । देशका बुद्धिजीवीहरु व्यापकरुपमा विदेश पलायन हुने अवस्थालाई राज्यले अन्त्य गर्न र क्षमतालाई स्वदेशमा सदुपयोग गर्न देशका अर्गानिक उत्पादन अनि प्रकृतिक सम्पदा उत्खनन्, सम्वर्धन र प्रवद्र्धन गर्न सकिने धारणा राखे । अर्गानिक उत्पादन र देउडा संस्कृतिलाई प्रबद्र्धन गर्न आयोजकलाई नेतृ पहाडी र गौतमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अर्गानिक अभियान्ता दीपक बुढाले कार्णालीको मात्र नभएर देशको प्रकृति र संस्कृतिलाई जगेर्ना गर्न नेता, पत्रकार र कलाकार सबै बेलैमा जागरुक हुनु पर्ने बताए । आफूहरुले कर्णालीको मार्सी चामल लगायत त्यहाँको जडीबुटीलाई राजधानीमा ल्याएर बेच्ने मात्रै नभएर त्यससँगै त्यहाँको संस्कृतिलाई पनि जोडेर त्यसको संवर्धन र प्रवर्धन गर्ने कोशिलाई साथ दिने सबैलाई धन्यवाद दिँदै भने, “मानव जीवनको रक्षा प्रकृति र नेपालीको पहिचान मौलिक संस्कृतिलाई जोगाएपछि मात्रै सम्भव रहेकोले त्यसमा सबैले साथ दिनु पर्छ ।” जनवादी कलाकार सुनिता बडुवाल, गजलकार शिबराज खनाल र संवाद डबलीका सचिव धनन्जय बुढालगायतको उपस्थिति रहेको कार्यक्रमको सभाध्यक्षता अभियान्त बुढाले गरेका थिए भने सन्चालन गायक रत्नकमल विष्टले गरेका थिए ।